प्रधानमन्त्रीप्रति कांग्रेसको आक्रोश - मन्त्रीलाई दोष दिएर उम्कन मिल्दैन, पद छोड्नुस्
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पद छोड्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीसमेतको हस्ताक्षर रहेको नयाँ गठबन्धनको आठ बुँदे सहमति पत्रमा लेखिएका विषय उल्लेख गर्दै उनले पद छोड्न सुझाव दिएका हुन् । १४ महिनामा काम गर्न नसकेको स्वीकार गरेकाले सरकारमा बसिरहन नमिल्ने लेखको भनाई छ।
‘संक्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ? नेपाली काँग्रेसले ? अनि तपाईंले यही कुरा लेखेर हस्ताक्षर गर्नुभयो भनेपछि नेपाली काँग्रेसप्रति न्याय गर्नुभयो । विश्वास, इमान गर्नुभयो र यो गठबन्धन निर्माण गर्नुपर्ने कुरा पुष्टि गर्नुभयो । यसका बारेमा काँग्रेसले प्रश्न सोध्न पाउँदैन । कसले रोक्यो ? इतिहासतिर फर्किएर हेरौँ । वर्तमान हेरौँ । भोलि पनि मिलेर जान सकिन्छ । सकिएला । तर सत्य डग्मगायो भने इमान हुँदैन', उनले भने ।
नेता लेखकले अगाडि भने, 'त्यसकारण मेरो सम्माननीय नेता बेइमानी शब्दप्रति तपाईंहरुको ध्यान गम्भीररुपले भएको छ, तर इमानको कुरा त काँग्रेसले गर्न पाउँछ नि । यति मेरो आग्रह हो । सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा काँग्रेसले लिनुपर्ने ? संघीयता कार्यान्वयन सम्बन्धी बाँकी कानून निर्माण गर्न भनिएको छ । साथै सबै तहका सरकारलाई प्रभावकारी बनाउने भन्ने छ । त्यसो भए संघीयतासम्बन्धी कानून पनि १४ महिनामा बनेनन् । अनि गर्नु के भयो त ? यो सत्य पनि छ कतिपय कुराहरु । किनभने दुईवटा अधिवेशनमा केही मात्रै कानून पारित भएका छन् । कसले रोक्यो काँग्रेसले ?’
क्याविनेटको नेतृत्वकर्ताको हैसियतमा प्रधानमन्त्रीले केही मन्त्रीहरुको कमजोरी देखाएर उम्किन नमिल्ने जनाउँदै उनले त्यसैका कारण गठबन्धन तोडेको भन्नु हास्यास्पद हो भने । प्रधानमन्त्रीको नेतृत्व र योग्यता नहुँदा यो अवस्था आएको उनको दावी छ ।
तपाईँले भन्नुभएको जस्तो काम गर्न सकेन गठबन्धन फेर्नुपर्थ्यो त्यहाँसम्म ठिक । तर जाँदा सबै जानुपर्थ्यो नि । अरू सबै बेठिक म मात्रै ठिक भन्दा नेपाली जनताले के मूल्याङ्कन गर्छन् !', उनले भने, 'यसो भन्दा कांग्रेसले लोभ गर्यो भन्लान् तर, तपाईँहरूले दिनुहुन्न कांग्रेसलाई लोभ छैन । तर, बगलमा पाएको पार्टनरलाई दिनुस् न ! तपाईँले सक्नुभएन भने सबै जानुपर्ने ? ।
प्रधानमन्त्रीले गठबन्धन फेरेर जनतासँग गरेका प्रतिवद्धतामाथि कुठाराघात गरेको पनि लेखकले आरोप लगाए । १४ महिनामा ३ पटक गठवन्धन फेरिएको भन्दै उनले यही अनुपातमा ५ वर्षमा १३ पटक गठबन्धन बदलिने अवस्था पनि दर्साए ।
टिप्पणीहरू