चिनियाँलाई नेपाली नागरिकता दिएको आरोपमा तत्कालीन नासु पक्राउ

चिनियाँलाई नेपाली नागरिकता दिएको आरोपमा तत्कालीन नासु पक्राउ
सुन्नुहोस्

सुन तस्करीमा संलग्न विदेशी नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले एक अधिकृतलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा रामचन्द्र अर्याललाई प्रहरीले समातेको हो । 

मकवानपुरको हेटौंडास्थित बागमती प्रदेशसभा सचिवालयमा कार्यरत छैठौं तहका अधिकृत अर्याललाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । काभ्रे प्रहरीको अनुरोधमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरले उनलाई पक्राउ गरेको हो । 

अर्याललाई मकवानपुरबाट काभ्रे ल्याइसकेको प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले बताए । उनीमाथि काभ्रेमा रहँदा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ्गलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ । 

श्रेष्ठले भने,‘उहाँलाई हिजो पक्राउ गरिएको हो । अहिले उहाँ हाम्रो हिरासतमा हुनुहुन्छ । उहाँमाथि अनुसन्धान भइरहेको छ ।’ दावाले नेपाली नाम निमा तामाङका नामबाट २०७४ पुस २० गते नमोबुद्ध नगरपालिका ठेगाना राखेर नेपाली नागरिकता लिएका थिए । उनले नागरिकता लिने बेलामा अर्याल नासु थिए । सरकारले दावाको नेपाली नागरिकता खारेज गरिसकेको छ ।

टिप्पणीहरू