अन्तत: उपेन्द्र यादवले शपथ खाए
मधेश सरकारको निरन्तरतामा सुनिश्चितता खोज्दै संघमा मन्त्री पठाउन बिलम्ब गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) अन्तत: सरकारमा सामेल भएको छ । सो पार्टीका दुई मन्त्रीले शपथ लिएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा सहभागी भएको हो । यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन्। त्यस्तै, नवलकिशोर साह वन तथा वातावरण मन्त्री र दिपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
जसपा वर्तमान सत्ता गठबन्धनको एक साझेदार दल हो । सो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण बदलेर नयाँ क्याबिनेट गठन गर्ने निर्णय गरेपछि फागुन २४ गते सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।
तर, मधेश प्रदेशमा सरकारको निरन्तरता खोजेका जसपा अध्यक्ष यादवले तत्काल प्रधानमन्त्रीसमक्ष मन्त्रीको नाम सिफारिस गरेका थिएनन् । गठबन्धनका दलहरु बीच जसपा नेता सरोजकुमार यादव नेतृत्वको मधेश सरकारलाई नै निरन्तरता दिने निर्णय भएको बताइएको छ ।
अन्य प्रदेशमा जस्तै मधेसमा केन्द्रमा बदलिएको सत्ता समीकरणको प्रभाव परे पनि एमाले,माओवादी, जसपा र एकीकृत समाजवादी एक ठाउँमा उभिँदा बहुमत जुट्ने गणितले उपेन्द्र संघीय सरकारमा जान तयार भएका हुन् ।
टिप्पणीहरू