इलाममा सुहाङको पनि दाबेदारी
इलाम क्षेत्र नम्बर २ मा रिक्त प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारीका लागि सुहाङ नेम्वाङले निवेदन दिएका छन् । नेकपा (एमाले) इलामले गठन गरेको उपनिर्वाचनको लागि कार्यदलमा सुहाङले निवेदन दिएका हुन् ।
नेकपा (एमाले) का तात्कालिन उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि खाली इलाम निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी चहलपहल बढेको छ । नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि रिक्त क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुँदैछ ।
यही निर्वाचनका लागि नेकपा (एमाले) इलामले उम्मेदवारी अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दिपकिशोर लिङ्दम सम्मिलित कार्यदल गठन गरेको थियो । उपनिर्वाचनको मिति तोकिएसँगैे सुवासचन्द्र नेम्वाङको छोरा सुहाङ पनि इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने चर्चा चलिरहेको थियो । यही चर्चाको वीच एक साता अघि इलाम आएका सुहाङले उम्मेदवारको दाबेदारीसहित निवेदन दिएका हुन् ।
एमाले इलामका उपाध्यक्ष तथा कार्यदल संयोजक राईले सुहाङले पनि उम्मेदवारीको लागि निवेदन दिएको बताए ।
एमाले इलामका उपाध्यक्ष तथा कार्यदल संयोजक राईले सुहाङले पनि उम्मेदवारीको लागि निवेदन दिएको बताए । उनले भने, ‘हो, सुहाङको पनि निवेदन आएको छ ।’ संयोजक राईका अनुसार उम्मेदवारीको लागि सुहाङसहित एमाले इलामका उपसचिव रविन्द्र सुवेदी, बुद्धि खनाल,देवी क्षेत्री दुलालले निवेदन दिएका छन् । कार्यदलले आउँदो चैत ३ गतेसम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेश गर्ने संयोजक राईको भनाई छ ।
सुहाङले आफूले उम्मेदवार बन्नका लागि निवेदन दिएको बताए । उनले भने, ‘सबै आदरणीय अग्रज, शुभेच्छुक, प्रियजन, साथीभाईको सुझाव अनुसार मैले कार्यदलमा निवेदन दिएको छु । यदि पार्टीले मलाई योग्य ठान्यो भने म प्रतिस्पर्धाका लागि तयार छु ।’
पेशाले अधिवक्ता सुहाङले पछिल्लो समय इलाममा गतिविधि बढाएका छन् । इलाममा ढुक्क गरी बसेर भेटघाट र अन्तरक्रियालाई तीव्रता दिएका छन् । पछिल्लो एक साता यता पेशाले अधिवक्ता सुहाङ दर्जनौं भेटघाट र कार्यक्रममा सहभागी भएका छन् । त्यसो त सुहाङ यसवीचमा आएका प्रतिक्रियाले उत्साही देखिन्छन् । इलामका विभिन्न कार्यक्रमहरुमा सहभागी बन्दा उनीसँग संवाद गर्ने, तस्बिर खिच्नेहरुको भीड लागेको छ ।
टिप्पणीहरू