लिङ्गदेनको कार्यकक्ष अगाडि कुटिएका राप्रपा नेता भन्छन्- पार्टीले जवाफ दिओस् !

लिङ्गदेनको कार्यकक्ष अगाडि कुटिएका राप्रपा नेता भन्छन्- पार्टीले जवाफ दिओस् !
सुन्नुहोस्

पूर्वपञ्चहरुको पार्टी राप्रपाका एकजना केन्द्रीय नेता बैठकमै कुटिएका छन् । कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला सशस्त्रका पूर्व एआइजीसमेत रहेका ठाकुरमोहन श्रेष्ठमाथि निर्घात कुटपिट भएको हो । 

विवादित ठेकेदारसमेत रहेका उपाध्यक्ष विक्रम पाण्डेका समर्थकहरुले श्रेष्ठलाई हातपात गरेको राप्रपा स्रोतले बताएको छ । 

आज बिहान धुम्वाराहीस्थित कार्यालयमा कार्यसम्पादन समिति बैठक बसेको थियो । बैठकमा पाण्डेमाथि आर्थिक अनुशासनको प्रश्न उठेको थियो । त्यसक्रममा कार्यसम्पादन समितिका सदस्य श्रेष्ठले सिधै भ्रष्टाचारी भनेपछि क्रुद्ध भएका पाण्डे बैठकबाट बाहिरिएका थिए । 

 खाना खाने समयमा सबै नेताहरु बाहिर निस्किएको र पाण्डेका समर्थकहरुले श्रेष्ठमाथि आक्रमण गरेको प्रत्यक्षदर्शी नेताहरुले बताएका छन् । कुटपिटको भिडियोसमेत सार्वजनिक भएको छ । जसमा नेताहरु बैठकबाट निस्किने क्रममा अध्यक्ष राजेन्द्र लिङ्गदेनको कार्यकक्ष अगाडि दर्जनौँको संख्यामा रहेका युवाहरुले एक पुरुषलाई लखेटी-लखेटी कुटेको देख्न सकिन्छ । 

कुटपिट हुँदा उपाध्यक्ष रवीन्द्र मिश्र, नेताहरु विक्रम थापा, रोशन कार्की, उद्धव पौडेल, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, दीपक सिंहलगायत घटनास्थलमै रहेको बुझिएको छ ।

यस सम्बन्धमा जिज्ञासा राख्दा श्रेष्ठले भने पार्टीले जवाफ दिएपछि मात्र आफू बोल्ने बताए । उपाध्यक्ष पाण्डेका पिएलगायतले मिलेर आफूमाथि निर्घात कुटपिट गरेको उनको भनाई छ । 

'बैठकमा बिबिध कुरा उठेका थिए, कारवाहीका कुरा पनि उठेको थियो । मैले आफ्ना कुरा राखेको थिए', उनले भने, 'पछि खाना खान सबै बाहिर निस्केपछि म पनि बाहिर जाँदा घेराउमा पारेर उनकै पिएलगायतले आक्रमण गरे । अहिले धेरै नबोलौँ, पार्टीले जवाफ दिओस् न पहिले ।'

टिप्पणीहरू