पालिकाका अध्यक्ष श्रीमतीसहित भ्रष्टाचारमा संलग्न

पालिकाका अध्यक्ष श्रीमतीसहित भ्रष्टाचारमा संलग्न
सुन्नुहोस्

महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुक भ्रष्टाचारमा तानिएका छन् । बाटोको ढलान कार्यमा अनियमितता गरेको आरोपमा उनीसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगले पूर्वअध्यक्ष फारुकसहित उनकी श्रीमती सदरुन निसा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अंसारी, अनुगमन समितिका श्यामकिशोर मण्डल, ओमकुमार महतो, पनु राय, विपिनविहारी यदुविर, उपभोक्ता समिति अध्यक्ष शेष सराहत, सचिव नाजना खातुन र कोषाध्यक्ष शेष समिउल्लाहविरुद्ध मुद्दा दर्ता गरिएको जनाएको छ ।

उनीहरुले सम्सी गाउँपालिका–६, मा इदगाहदेखि उमरपुर चोकसम्मको पीसीसी ढलान र नाली निर्माणमा भ्रष्टाचार गरेका हुन् । कामै नगरी फर्जि प्रतिवेदनका आधारमा उपभोक्ता समितिलाई चार लाख तीन हजार ५८१ रुपैयाँ भुक्तानी गरेको पाइएको छ । 

अख्तियारले उक्त रकम जफतको माग गर्दै प्रतिवादीहरुलाई कैद र जरिवानासमेतको सजायको मागदाबी गरेको छ ।
 

टिप्पणीहरू