प्रेमिका मारेका प्रेमी भन्छन् : ‘खुकुरी त्यो खोलामा फालेको छ’

प्रेमिका मारेका प्रेमी भन्छन् : ‘खुकुरी त्यो खोलामा फालेको छ’
सुन्नुहोस्

दुरुपयोग भएको अवस्थामा कुनै हतियारभन्दा हजार गुणा खतरनाक हुन्छ, प्रेम । त्यही प्रेमले मानिसलाई असल बनाउन सक्छ भने कुनैबेला खुँखार अपराधी पनि बनाइदिन सक्छ । 

प्रेमले मानिसलाई कसरी अञ्जानमै अपराधी बनायो भन्नेबारे थाहा पाउन प्रस्तुत एउटा घटना पर्याप्त हुन्छ । घटना गत फागुन २१ गतेको हो भने स्थान मोरङको पथरी–शनिश्चरे नगरपालिका– ७ लामाटोलमा । समय रातको करिब १० बजेको हाराहारीमा । 

१५ वर्षीया ज्ञानमति थुलुङ शौचालयको लागि कोठाबाट बाहिर निस्किएकी थिइन् । तर उनी शौचालयको ढोकामा पुगेपछि पछाडिबाट उनीमाथि खुकुरी प्रहार भयो । 

प्रहार पनि एक दुई पटक होइन, शरीर नै टुक्रा हुुनेगरी । ज्ञानमतिले तत्काल प्राण त्यागिन् । पछाडीबाट विभत्स ढंगले खुकुरी हान्ने अरु कोही नभएर ज्ञानमतिकै प्रेमी थिए, धिरेन खाँ चौधरी । उनले प्रेमिकालाई किन खुकुरी हाने ? यसको कारण थाहा पाउन दुवै जनाको पृष्ठभूमि जान्नुपर्ने बताइन्छ । 

ज्ञानमति खोटाङको ऐंसेलुखर्क–६ सल्लेरीकी हुन् । तीन वर्षअघि बुबाले आत्महत्या गरेपछि उनी मोरङको पथरी झरिन् । त्यहाँ उनी फूपूकी छोरी विष्णुकुमारी राईको घरमा बसिन् । तर २०७८ माघ २८ गते विष्णुकुमारीको पनि निधन भयो । 

त्यसपछि ज्ञानमति लामाटोलस्थित फूपुका छोरा विनोद राईको घरमा बस्न थालिन् । सानैदेखि किचलो रहेको पारिवारिक सम्बन्धको वातावरणमा हुर्केकी उनीसँग बस्ने वा जाने अरु ठाउँको विकल्प पनि थिएन । 

विनोद अटो चलाउँछन् । विनोदकी श्रीमती विनिता राई होटल । उनीहरुको दुई सन्तान पनि छन् । विनोदको परिवारमा ज्ञानमति भित्रिएपछि विनिता खासै खुशी थिइनन् । खुशी नभए पनि ज्ञानमतिलाई शरण दिनुपर्ने विनोद र विनिताको बाध्यता थियो । 

सुरुमा ज्ञानमतिसँग विनोद र विनिताले राम्रै व्यवहार गरे । तर विस्तारै उनीहरुले ज्ञानमतिमाथि अत्याचार गर्न थाले । होटलका भाडा माझ्न लगाइरहने, अफ्ठयारा काम गर्न निर्देशन दिइरहने, गाली–गलौज गरिरहने । विनोद र विनिताको व्यवहारले ज्ञानमतिलाई विस्तारै पोल्न थालेको बताइन्छ । उनले मानिसक टर्चरको महशुस गर्न थालेकी चिनेजानेकाहरु बताउँछन् ।

एकदिन ज्ञानमतिले फेसकुबमा धिरेन खाँ चौधरीलाई भेटिन् । बाराको जितपुरका विवाहित धिरेनको घरमा १४ वर्षीय छोरो, श्रीमती र आमा थिए । तर धिरेन पनि परिवारसँग खासै सन्तुष्ट नरहेको बताइन्छ । उनले अधिकांश समय वैदेशिक रोजगारीको क्रममा कुवेतमा बिताएका थिए । 

धिरेन कुवेतमै रहेको बेला ज्ञानमतिसँग कुरकानी हुन थाल्यो । समय बित्दै जाँदा उनीहरुको कुराकानी प्रेममा परिणत भयो । 

ज्ञानमतिसँग आफ्नो मोबाइल थिएन । उनी कहिलेकाहीँ लुकेर विनोदको मोबाइलबाट धिरेनसँग च्याटमा बोल्थिन् । कहिलेकाही अन्य साथीहरुको मोबाइल मागेर च्याट गर्थिन् । 

करिब एक वर्षको फेसबुक प्रेमपछि धिरेन नेपाल फर्किए । त्यसपछि पहिलो पटक ज्ञानमतिलाई भेट्न पथरी पुगे । उनीहरु दुवै जना गोप्य तवरले जोगबनी नाकासम्म गए । तर यो कुरा विनोद र विनिताले थाहा पाइसकेका थिए । त्यसपछि उनीहरुले ज्ञानमतिलाई जबर्जस्ती फर्काएर घर ल्याए । 

धिरेन विवाहित रहेको थाहा पाएका विनोद र विनिताले ज्ञानमतिलाई घरमा झन् यातना दिन थाले । उनीहरुले ज्ञानमतिलाई धिरेनबाट टाढा बनाउने प्रयास गरिरहे । 

यता धिरेनमा विनोद र विनिताप्रति आक्रोश पैदा हुँदै गएको थियो । ज्ञानमतिले कसैको मोबाइल पाउनबित्तिकै धिरेनलाई फोन गरेर विनोद र विनिताले आफूलाई दिने टर्चरबारे जानकारी गराउँथिन् । 

यसले धिरेनमा विनोद र विनिताप्रति झन् आक्रोश बढ्दै गयो । अन्ततः उनले विनोद र विनिताको हत्या गरेर ज्ञानमतिलाई सँधै आफ्नो बनाउने योजना बनाए । 

जसअनुसार उनी फागुन २१ गते अपरान्ह पथरी चोकबाट हिँड्दै लामाटोल पुगे । कम्मरमा लुकाएर खुकुरी बोकेका थिए । उनको एउटै योजना थियो, जसरी हुन्छ विनोद र विनितालाई आफ्नो बाटोबाट पन्छाउने । 

राति करिब १० बजेतिर उनी विनोदको घरनजिकै गएर लुकेर बसेको बताइन्छ । विनोद वा विनिता बाहिर निस्कन बित्तिकै खुकुरी हान्ने उनको दाउ थियो । तर विनोद र विनिता बाहिर निस्किएनन् । बरु शौचालयको लागि भन्दै ज्ञानमति कोठाबाट बाहिर निस्किन् । 

खुकुरी हान्न तयार भएर बसेका धिरेनले अध्याँरोमा ज्ञानमतिलाई पछाडिबाट चिन्न सकेनन् । उनले विनिता सम्झिएर छपाछप खुकुरी हाने । उनलाई लागेको थियो, विनितालाई खुकुरी हानेँ । तर विनिता नभएर ती ज्ञानमति थिइन् । 

भोलिपल्ट बिहानै प्रहरी घटनास्थल पुग्यो । आसपास रहेका सिसि क्यामेराको सहायताले प्रहरीले सोही दिन दिउँसो धिरेनलाई पक्राउ गर्यो । 

पक्राउपछि धिरेनले बल्ल थाहा पाए, अध्याँरोमा विनिता सम्झिएर हानेको खुकुरी आफ्नै प्रेमिकालाई परेको कुरो । अहिले उनी प्रहरी नियन्त्रणमा छन् । अन्जानमा आफ्नै प्रेमिकालाई खुकुरी हानेपछि धिरेनले पश्चाताप गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए । 

धिरेनले दिएको बयानलाई उद्धृत गर्दै उनले भने, ’धिरेन ज्ञानमतिलाई मार्न चाहँदैनथे । जहाँ घटना भएको हो, त्यहाँ बत्ती रहेनछ । उनको टार्गेट ज्ञानमति नभएर विनोेद र विनिता थिए । अँध्यारोका कारण उनले ज्ञानमतिलाई चिन्न सकेनन् । अहिले उनले गल्तीले ज्ञानमतिको हत्या भएको स्वीकार गरिसकेका छन् । मलाई जे सजाय दिनुहुन्छ दिनुहोस्, मबाट ठूलो गल्ती भो, मलाई फाँसीको सजाय दिए पनि हुन्छ भनिरहेका छन् ।’ 

घटना भएको रात धिरेनले हतारमा भाग्दा खुकुरीको दाप त्यहिँ छाडेका थिए । तर खुकुरी भने प्रहरीले भेटाउन सकेको छैन । पक्राउपछि धिरेनसँग प्रहरीले बयान लिँदै सोध्यो, ’खुकुरी कहाँ छ ?’ 

धिरेनले जवाफमा केही बताएनन् । बरु उल्टै शर्त राखे, ’मलाई ज्ञानमतिको लाश जलाएको ठाउँसम्म पुर्याइदिनुहोस् अनि खुकुरी कहाँ छ, भन्छु।’ प्रहरीले उनलाई लाश जलाएको ठाउँसम्म लग्यो । त्यहाँ पुगेर धिरेनले ज्ञानमतिको लाश जलाएको ठाउँमा फर्किएर आफ्नो अञ्जुलीमा पानी छर्किए र भावुक बने । यो दृश्यले प्रहरीलाई समेत एकोहोरो बनायो । 

अन्त्यमा धिरेनले विनोदकै घरको पूर्वपट्टी बग्ने सानो खोला देखाउँदै भने, ‘खुकुरी त्यहाँ फालेको छु ।’

टिप्पणीहरू