युवकको कम्मरमा एक किलो सुन, युवतीको झोलामा २१० ग्राम

युवकको कम्मरमा एक किलो सुन, युवतीको झोलामा २१० ग्राम

संयुक्त अरब इमिरेट्सको दुबईबाट काठमाडौं आएकी एक युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित समातिएकी छन् । प्युठानको ऐरावती गाउँपालिका–६, घर भएकी २८ वर्षीया संगिता परियारलाई प्रहरीले सुनसहित पक्रेको बताइएको छ । 

फ्लाई दुबईको उडानमा काठमाडौं आएकी उनको साथबाट दुई सय १० ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ । भन्सार छलेर लैजान लागेको अवस्थामा परियारको साथबाट सुनको एक थान सिक्री, एक थान ब्रासलेट, तीन वटा औंठी, एउटा रानीहार, एउटा मिनीहार, दुई वटा मंगलसुत्र र दुई जोर कानमा लगाउने झुम्का बरामद भएको हो । 

हिजो पक्राउ परेकी उनीमाथि भन्सार कार्यालयले आवश्यक अनुसन्धान तथा कारबाहीका अघि बढाएको छ । उता सिन्धुपाल्चोकमा पनि एक किलो सुनसहित एक युवक पक्राउ परेका छन् ।

भोटेकोशी गाउँपालिका–५, मार्मिङ बस्ने २३ वर्षीय थारचेन तेम्बा तामाङलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले हिजो साँझ बाह्रबिसे नगरपालिका–३, खुर्सानीबारीबाट सुनसहित नियन्त्रणमा लिएको हो ।

भे.११ प ५५५८ नम्बरको मोटरसाइबल चेकजाँच गर्ने क्रममा तामाङले आफ्नो कम्मरमा बाँधेर ल्याएको अवस्थामा सुन फेला परेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू