नयाँ सरकार : को सञ्चो, को बिमार !
- शरद अधिकारी
पछिल्लो घटनाक्रम नेपाली जनताका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भनेझैँ भएको छ । पुष्पकमल दाहालले कांग्रेससँगको सहयात्रा तोड्नुभयो र नयाँ दल रोज्नुभयो । पहिले सरकारभन्दा बाहिर रहेका एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा उक्लिए । पछिल्लो अढाई वर्षको कुरा गर्ने भने कांग्रेस तीन महिनाजति सत्तामा थिएन, होइन भने ऊ सत्तामा जहिल्यै छ ।
०७४ सालपछि नेकपाभन्दा केपी ओली नेतृत्वको सरकार साढे तीन वर्ष चलेको थियो । त्यो समय कांग्रेस सत्तामा थिएन । ०७९ सालको निर्वाचनपछिका १४ महिनामा तीन वटा गठबन्धन बनिसकेका छन् । एमालेले गत फागुनमा सत्ताबाट बाहिर हुँदा यति पिर मानेको थिएन जति अहिले कांग्रेसले दुःखमनाउ गर्दैछ ।
वामपन्थीबीच ०७४ सालमा गठबन्धन भएपछि कांग्रेस प्रत्यक्षतर्फ जम्मा २३ सिटमा झरेको थियो । समानुपातिकका कारण आकार अलि ठूलो देखिएको मात्रै होे । अहिले कांग्रेसलाई गठबन्धनबाट हटाएर एमालेलाई ल्याउनुपर्ने अवस्था किन पर्यो ? कांग्रेसले के गरेको थियो र ? पहिले एमालेलाई गठबन्धनबाट हटाएर कांग्रेसलाई ल्याउँदा जे आरोप लगाउने काम भएको थियो, ती क्लियर भए कि भएनन् ?
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेको र पुनः संसद विघटनको चर्चा गरेका कारण कांग्रेससँग गठबन्धन गर्नुपरेको भन्ने तर्क त्यतिबेला माओवादी अध्यक्ष तथा प्रधानमन्त्रीको थियो । एक वर्ष पुगेको छैन, एमाले अध्यक्ष ओलीले ती विषयमा केही महसुस गर्नुभयो कि ? अब दुई वर्षपछि हुने सत्ता साझेदारमा संसद विघटन नगर्ने वा मध्यावधिमा नजानेबारे प्रतिबद्धता जनाइयो कि ? अथवा के भयो ? यसबारे जवाफ कसैले दिएको छैन । पहिले संसद विघटन गर्नु बाध्यता थियोे भन्ने अडानबाट ओली पछि फर्कनुभएको हो कि ? अथवा आगामी दिनमा संसद विघटन नगर्ने भनेर बाचा गरिसक्नुभयो कि ? यसबारे अझै स्पष्ट कुरा आएको छैन ।
नयाँ सरकार बन्नुका पछिल्तिर केही कारण प्रधानमन्त्रीले दिनुभएको छ । कांग्रेसले हिन्दू राज्य बनाउने प्रस्तावमाथि छलफल गरेको भन्ने प्रसंग बढी उठिरहेको छ । यस्तै, माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोण कांग्रेसले परिवर्तन नगरेको कुरा आइरहेको छ । दोष लगाउनका लागि जसलाई जे पनि लगाउन सकिन्छ । अहिले कांग्रेसले औपचारिक रूपमा हिन्दू राज्यको कुरा उठाएको छैन । आफ्नो दस्तावेजमा राखेको छैन ।
हिन्दू राज्य यस कारणले चाहिन्छ भन्नेबारे केही बोलेको छैन । जुन दिन कांग्रेसले यसबारे बोल्ला त्यो दिन एमालेले पनि नबोली धरै छैन । विश्वका कैयौं मुलुकमा हिन्दूको बाहुल्यता छ तर त्यहाँ हिन्दू राज्य बनेको छैन । विश्वका कैयौं मुलुकमा क्रिश्चियनको संख्या बढी छ । यस्तो हुँदा पनि ती राष्ट्र क्रिश्चियनका लागि मात्रै छैनन् । धर्मका हकमा केही देश बढी कट्टर छन् ।
अमेरिकीहरू बाइबलमाथि हात राखेर कसम खान्छन् । नेपालमा गीतामाथि हात राखेर कसम खाने चलन छैन । बरु कसैले देवीदेवताका नाममा शपथ खान्छन् । कसैले जनताका नाममा खान्छन् । कसैले शहीदका नाममा शपथ लिन्छन् । यो व्यक्तिगत इच्छामा भरपर्ने कुरा हो । कुनै दललाई लाग्यो भन्दैमा त्यो देश हिन्दू, बौद्ध वा मुस्लिम भइहाल्दैन । राजनीतिक दलबीचमा सहकार्य भयो भने मात्रै कुनै मुलुकले विचार बदल्ने हो । दलले चाहे भने राजतन्त्र आउन सक्छ । जसरी गणतन्त्र आयो त्यसैगरी जान पनि सक्छ । यो भन्दैमा गणतन्त्रको विकल्पमा आउने कुनै पनि व्यवस्थालाई राम्रो भन्न सकिन्न । गणतन्त्र विश्वमै उत्कृष्ट व्यवस्था हो ।
नयाँ सरकारबारे अहिल्यै धेरै टिप्पणी गर्न हतार हुन्छ । तर, एउटा सत्य के हो भने अहिलेको सरकारले पनि कुनै उत्कृष्ट नतिजा निकाल्ने छैन । वर्षौंदेखि उही पात्रलाई दोहोर्याई, तेहर्याई सत्तामा ल्याउने काम मात्रै भएको छ । वर्षौंदेखि कहिले यो मन्त्रालय, कहिले त्यो मन्त्रालय चहार्नेबाट उत्कृष्ट नतिजा हासिल गर्न सकिँदैन । नेपालमा सांसद दुई पटकभन्दा बढी हुन नपाइने, मन्त्री दुई पटकभन्दा बढी हुन नपाइने, प्रधानमन्त्री पनि दुई पटकभन्दा बढी हुन नपाइने नियम बनाएर कडाइसाथ पालना गर्नुपर्छ । होइन भने पार्टीमा कब्जा गरेजस्तो सत्तामा सीमित व्यक्तिको कब्जा भइरहनेछ । सत्ता कसैको पेवा होइन ।
अहिलेको सरकार वामपन्थीको बाहुल्यमा छ । वामपन्थीले नारा चर्का लगाउँछन् । ठूला योजना बनाउँछन् । आश्वासन अनेकन दिन्छन् । ठूला कुरा गर्ने, ठूला योजना बनाउने वामपन्थीले देश चलाउने तरिका भने नयाँ निकाल्न सक्दैनन् । कांग्रेस जानु र कम्युनिष्ट आउनुमा केही फरक त हुनुपर्यो नि ? संघमा सरकार परिवर्तन गर्ने, प्रदेशमा सरकार परिवर्तन गर्ने, सरकार परिवर्तनमा मात्रै ध्यान दिने हो भने गठबन्धन हर्ष न विस्मातको मात्रै हुनेछ ।
टिप्पणीहरू