कुटपिट आरोपमा किटानी जाहेरी परेका माननीय संसदमा प्रकट

कुटपिट आरोपमा किटानी जाहेरी परेका माननीय संसदमा प्रकट
सुन्नुहोस्

आफ्नै पार्टीका नेतामाथि हातपात गरेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद विक्रम पाण्डे प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् । 

विवादित ठेकेदारसमेत रहेका पाण्डेविरुद्ध उनकै पार्टीका नेता ठाकुरमोहन श्रेष्ठले प्रहरीमा किटानी जाहेरी दिएका थिए । पार्टी कार्यालयमै पाण्डेको निर्देशनमा उनका पिए र समर्थकहरुले आफूमाथि निर्घात कुटपिट गरेको उल्लेख गर्दै उनले प्रहरीमा जाहेरी दिएका हुन् । 

किटानी जाहेरीमा सांसद पाण्डे, राप्रपा सहमहामन्त्रीसमेत रहेका उनका पिए प्रेम बलायर, ऋद्धिजंग बहादुर राना, हिक्मत जंग कार्की, निरन्जन बम र नाम नखुलेका थप दुई जनाले  ज्यान मार्ने उद्धेश्यले हातपात गरेको दावी गरिएको छ । 

आफूमाथि किटानी जाहेरी परेको अवस्थामा सांसद पाण्डे भने आजको प्रतिनिधिसभा बैठकमा उपस्थित भए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतविभाजन प्रक्रियामा पाण्डेको सहभागिता रहेको थियो । 

प्रहरीमा किटानी जाहेरी परेको व्यक्ति संसद बैठकमा उपस्थित भएको भन्दै नेता श्रेष्ठले आपत्ति जनाएका छन् । सशस्त्र प्रहरीका पूर्वएआइजीसमेत रहेका श्रेष्ठमाथि फागुन २७ गते कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला हातपात भएको थियो । आफूले भ्रष्टाचारविरोधी धारणा राखेकै कारण पाण्डेले समर्थक जुटाएर कुटेको श्रेष्ठको आरोप छ ।

टिप्पणीहरू