देउवालाई देखाइदिन गगनको गान
नेपाली कांग्रेसको अन्तद्र्वन्द्व गठबन्धन भत्किएर नयाँ सरकार निर्माण भएसँगै भिन्न रूपले अघि बढेको छ । गठबन्धन रहुञ्जेल देउवालाई सत्तोसराप गरी बसेका कांग्रेस एकाएक सत्ताबाट प्रतिपक्षमा पुगेपछि पनि देउवाकै कारण सरकारबाट विमुख हुनुपरेको भनेर आलोचना गरिरहेका छन् । यो आलोचक शैली केन्द्रदेखि टोलसम्म पुगेको देखिएको छ ।
उमेर, स्वास्थ्य तथा राजनीतिको पछिल्लो समयको विकर्षणका कारण देउवानिकटहरू पनि झोंक फेर्न र ‘देखाइदिन’ भन्दै आफ्ना तुष्टि पुष्टि गरिरहेका छन् । यस्तै तुष्टि देखाउने काम गरेका छन् ललितपुर गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले । उनले नगरपालिका स्थापना दिवसको कार्यक्रममा देउवाका आलोचक गगन थापालाई प्रमुख अतिथि बोलाएर भावी राजनीतिको लाइन मिलाउने र देउवा पक्षधरलाई देखाइदिने एक तीर दुई शिकार गरेका छन् ।
शेरबहादुर देउवालाई प्रयोग गरेर आफ्नो राजनीतिक पकड विस्तार गरेका पूर्वजिल्ला सभापति मदनबहादुर अमात्यले राष्ट्रिय सभामा कोटा नपाएर जितजंग बस्नेतलाई अघि बढाएको झोंकमा ललितपुरका कांग्रेसहरूले आफूहरूलाई खाँटी देउवा विरोधी प्रमाणित गरिरहेका छन् । यसको फाइदा भएको छ गगन थापालगायतलाई । गोदावरीका मेयरले अख्तियारमा आफ्नोअनुकूल काम नभएको र विगतका विभिन्न मुद्दामा अप्ठ्यारो पारेको भन्दै दबाब सिर्जना गर्न धाउँदा देउवाले नभनिदिएको झोंक फेर्न गगनको गान गाउन थालेका हुन् ।
मेयर महर्जनले नगरपालिकाका कार्यक्रम कांग्रेसको पार्टी कार्यक्रम जस्तो गर्ने गरेको भन्दै स्थापना दिवसमा असन्तुष्टि छताछुल्ल भएको छ । कार्यपालिका तथा कर्मचारी हरूबाट आएका कुनै कुराको सुनुवाइ नै नगरी पेलेर निर्णय सुनाउने शैलीका कारण कार्यपालिका सदस्य र वडाध्यक्षहरू पनि आजित छन् । पूर्वमन्त्री तथा कांग्रेस महामन्त्री गगन थापालाई प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गरेपछि ललितपुर–१ का सांसद उदयसमशेर राणा नै असन्तुष्ट भएका छन् । ललितपुर ३ मा २ वटा वडा रहेको गोदावरीको कार्यक्रमप्रति सांसद तोसिमा कार्कीको पनि असन्तुष्टि रहेको बुझिएको छ ।
एमालेका प्रदेश सांसद मधुसूदन पौडेल, माओवादी सांसदहरू, पूर्वमन्त्रीलगायत नगरपालिकाको स्थापना दिवसमा विगतमा आमन्त्रित हुने गरेकोमा मेयर महर्जनले बोलाउनुपर्दैन भन्दै नबोलाएको र निम्तो पठाएजस्तो गर्नु, आए ठीकै छ फलोअप नगर्ने भन्दै पन्छाएको कुरा एक कार्यपालिका सदस्यले बताए । माओवादी नेतृत्वमा गठबन्धन भएपछि एमाले, माओवादी र रास्वपाको प्रतिनिधित्वलाई निषेधजस्तै गरेर गगन रिझाउन आयोजना गरिएको कार्यक्रममा ५० औं लाख रूपैयाँ खेलकुद विकास र सम्मान पुरस्कारका नाममा सकिएको विषय पनि विवादमै छ । आवश्यक खेलकुदमा बजेट विनियोजन नगरी कांग्रेस नेता मीनकृष्ण महर्जन, निरोज महर्जनलगायत केही नेतालाई भाग मिलाउन कार्यक्रम निर्माण गरिएको भन्दै वडाध्यक्ष र कांग्रेसका सिनियर नेताले समेत आलोचना गरेका छन् ।
टिप्पणीहरू