सुदन किराती मात्रै किन सेकिए
नयाँ गठबन्धनको समेत नेतृत्व गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पुरानै टिमका प्रायः सबैलाई दोहोर्याए पनि पर्यटन तथा संस्कृतिमन्त्री सुदन किरातीलाई भने पाखा लगाएका छन् । कारणमा उनको इच्छा र निर्देशनअनुसार रामग्राममा घरबेटीलाई दिन लागिएको ९९ बिघा जमिनसम्बन्धी विवादास्पद निर्णय पनि रहेको दाबी गरिएको छ ।
अर्को कारण एमालेले जनाएको आपत्ति पनि हुनसक्छ । प्रधानमन्त्री प्रचण्डको प्रिय मन्त्रीकै रुपमा किराती चिनिन्थे । उनी कुनै पनि नियुक्तिलगायत महत्वपूर्ण कामका लागि डायरी बोकेर बालुवाटार सल्लाह माग्न पुगिहाल्थे । उनले प्रधानमन्त्री प्रचण्डसँग कुनै पनि मन्त्रिपरिषद्को बैठकमा राय बझाएनन् । आफू विवादमा पर्छु भन्ने जान्दाजान्दै प्रधानमन्त्रीकै ‘एसम्यान’ भई लुम्बिनी विकास बोर्डको अध्यक्षमा विवादास्पद छविका ह्यार्केल लामालाई नियुक्ति दिए । यी घटनाक्रमको आधारमा पनि किराती मन्त्रीबाट हट्नुपर्ने अवस्था देखिँदैन । तापनि, यस्तो वातावरण बन्यो कि उनी प्रधानमन्त्रीबाट लखेटिएकाजस्ता बन्न पुगे ।
अर्कोतर्फ पुरानालाई नदोहोर्याउने र बिनाविभागीय मन्त्री बनेका हितबहादुर तामाङलाई पर्यटन तथा संस्कृतिमन्त्री बनाउँछु भन्ने वचन दिएकाले अरु दोहोरिए पनि किराती भने पाखा परेको दावी स्रोतको छ । त्यसो त दोहोरिएका सूचना तथा प्रविधिमन्त्री रेखा थापा र जलस्रोत तथा ऊर्जामन्त्री शक्ति बस्नेतलाई मन्त्रालयमा कार्यक्रम गरी बिदाइ गरिँदै थियो । बिदाइ भाषण गर्दागर्दै यथावत् राख्ने फोन गएपछि कार्यक्रमलाई विषयान्तर गरियो । पार्टीभित्र सानो प्रोफाइलमा भए पनि १३ महिना क्याबिनेट मन्त्री भएँ, अनुभव बटुलें भन्ने गरेका छन् भने अहिलेको मन्त्रिमण्डलमा बसेको भए पनि विवादित हुन्थें । अहिले अपजसको भार बोक्नुपरेको छैन भन्दै साथीभाइसँग चित्त बुझाउने गरेका छन् ।
भोज खाने हाकिमको नयाँ जाल ?
सुदन किराती पुनर्गठित मन्त्रिमण्डलमा नदोरिएपछि भोजको आयोजना गरेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले नयाँमन्त्री हितबहादुर तामाङका छोरा रुपेशमाथि जाल फालेका छन् । प्रदिपले अन्तिम बयानका लागि चैत लाग्नासाथ अख्तियारले बोलाउन लागेको सुइको पाएपछि गोदावरीमा आर्थिक बिटका पत्रकारलाई तालिमको आयोजना गरी मुख बुझो लगाउन थालेका छन् ।
२ दिने आवासीय सो तालिममा व्यक्तिगत सम्बन्ध सुधार्न विभागको राम्रै खर्च भएको बताइन्छ । त्यसो त अधिकारीले तालुक मन्त्रालयका सचिवलाई पनि २५ लाखको चारो फ्याँकेको गफ साथीहरूमाझ लगाउने गरेका छन् । उनलाई प्रधानमन्त्री प्रचण्डका ज्वाइँ, कोशी प्रदेशका पूर्व मन्त्री जीवन घिमिरेको राम्रै साथ रहेको बताइन्छ ।
टिप्पणीहरू