संसदमा देखियो प्रधानमन्त्रीको अचम्मैको आत्मविश्वास
सशस्त्र संघर्षदेखि शान्तिपूर्ण राजनीतिको झण्डै तीन दशक लामो यात्रामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निरन्तर राष्ट्रिय राजनीतिको केन्द्रमा हुनुहुन्छ । राजनीतिका निर्णायक मोडहरुमा ‘बोल्ड डिसिजन’ लिनसक्ने नेताका रुपमा अलग्गै पहिचान छ उहाँको ।
१० वर्षे सशस्त्र युद्धको नेतृत्व गर्दै शान्तिपूर्ण राजनीतिमा आउनुभएका उहाँ तीनपटक मुलुकको कार्यकारी प्रमुख भइसक्नुभयो । माओवादी पार्टीको संसदीय आकार खुम्चिँदै जाँदा पनि राष्ट्रिय राजनीतिमा प्रचण्डको भूमिका भने कहिल्यै संकुचन भएन । कुनै समय प्रचण्ड र नेपाली राजनीति एक–अर्काका पर्यायजस्तै मानिन्थ्यो ।
तर, आफ्नो राजनीतिक जीवनको उत्तराद्र्धमा आइपुग्दा प्रचण्डको छवि अस्थिर नेताका रुपमा तीब्र आलोचित बनिरहेको छ । खासगरी सत्तामा पुग्न जुनसुकै शक्तिसँग पनि टाँसिएर राजनीतिलाई सिद्धान्तहीन बनाएको र अस्थिरताको पक्षपोषण गरेको आरोप उहाँमाथि लाग्ने गरेको छ । भलै, प्रचण्ड र माओवादीका नेताहरुले यसलाई ’गतिशिलता’, ‘क्रमभंगता’, ’अग्रगामी छलाङ’ भन्ने गरेका छन् ।
पार्टीभित्रै पनि सम्झौतापरस्त राजनीति गरेको आरोपबाट उहाँ मुक्त हुनुहुन्न । तर, उनै प्रचण्ड आज प्रतिनिधिसभा बैठकमा भने अचम्मैसँग आत्मविश्वासी देखिनुभयो । पछिल्लो १४ महिनाको अवधिमा तीनचोटी गठबन्धन फेरेर ठूला दललाई पालैपालो धोका दिएको भन्दै नेपाली काँग्रेसका नेताहरुले ’धोका खानेहरु’ एक ठाउँमा आए के होला ? भनी दबाबमा पारेपछि उहाँले खुला चुनौती दिँदै भन्नुभयो, ‘तपाईंहरु मिल्नुस् मेरो कामना छ ।’
प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि टिप्पणी गर्ने क्रममा त्यसअघि काँग्रेस सांसद विश्वप्रकाश शर्माले काँग्रेस–एमाले मिले तपाईंको हालत के हुन्छ ? भनि सोधेका थिए । विगतमा आफूमाथि उठेका प्रश्नहरुको निकै सन्तुलित र कूटनीतिक जवाफ दिने प्रचण्डले प्रष्ट भाषामा भन्नुभयो, ‘कांग्रेस र एमाले मिल्छौँ भनेर प्रचण्डलाई दबाबमा पार्न सकिन्छ भन्ने नसोचे हुन्छ ।’
‘ठूला दलहरु हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिले पनि भनियो । आज पनि भनियो । मेरो त कामना छ–तपाईंहरु मिल्नुस् । तपाईंहरु सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर फेरि देश र जनताको पक्षमा, संविधानको रक्षामा, राष्ट्रियताको सुदृढिकरणको पक्षमा लडिराख्छ’, नरम भाषामा तर चेतावनीको शैलीमा उहाँले जवाफ दिनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले रोष्ट्रममा उभिएर ’काँग्रेस सभापति शेरबहादुर देउवा आफूसँग कुरा गर्नसमेत तयार नभएको’ बताइरहँदा फ्लोरबाट देउवाले ’अब बोल्छु, तयार छु’ भनेकोमा पनि प्रचण्डको टिप्पणी कडा थियो । ‘देउवा एमालेसँग बोल्नुस्, म भन्छु–बोली फर्काउनुस् र बनाउनुस् सहकार्य दुई दलको’, चुनौति दिँदै भन्नुभयो ।
प्रधानमन्त्री त्यतिमा मात्रै रोकिनुभएन, विगतमा सबै पार्टी मिलेर माओवादी आन्दोलन दबाउन खोज्दा पनि नसकेको दाबी गर्दै यस्ता कुराले आफू दबाबमा नपर्ने घुमाउरो चेतावनीसमेत दिनुभयो । ’हिजो त तपाईंहरु सबै मिलेर टाउको काटन खोज्या हो नि त । डराउँछ माओवादी केन्द्र भन्ने ठान्नु भएको छ ?’, प्रधानमन्त्रीको आक्रोशपूर्ण प्रतिप्रश्न छ ।
गठबन्धन तोडेर प्रधानमन्त्रीले ’बेइमानी’ गरेको सत्तापक्षकै केही सांसदहरुको घुमाउरो आरोपको पनि उहाँले कूटनीतिक जवाफ दिनुभएन । बरु ’मन नपरेको भए आफ्नो निर्णय गर्न सबै स्वतन्त्र रहने’ बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्णय गर्न सबै राजनीतिक दल स्वतन्त्र हुने भएकाले कुन गठबन्धनमा रहने भन्ने कुरा तत्कालिन परिस्थितिमा निर्भर रहने उल्लेख गर्दै भन्नुभयो– ’राजनीतिक दल कतिबेला कोसँग मिल्छ भन्ने कुरामा हरेक राजनीतिक दल स्वतन्त्र छन् । फाइदा हुन्छ भने मिल्ने हो । राजनीतिक रुपमा आफूलाई हित हुन्छ भन्ने देखियो भने त्यसले आफ्नो जनतामा प्रभाव विस्तार गर्न मद्दत पुग्छ भन्ने लाग्यो भने एक खालको गठबन्धन बन्ने हो । यदि त्यस्तो लागेन भने त्यो गठबन्धन छोडने हो । यो स्वतन्त्रता हर राजनीतिक दललाई छ ।’
देशको वृहत्तर हितका लागि एमालेसहितको नयाँ गठबन्धन बनाएको धारणालाई पनि उहाँले दोहोर्याउनुभयो ।
टिप्पणीहरू