बाबुरामको किचकिच,र फेरि अर्को किचलो

बाबुरामको किचकिच,र फेरि अर्को किचलो
सुन्नुहोस्

माओवादी केन्द्रसँग पार्टी एकीकरणको विषयलाई लिएर विवादमा फसेको नेपाल समाजवादी पार्टीभित्र नयाँ सत्ता समीकरणलाई लिएर किचलो चर्किएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन छोडेर एमालेसँग नयाँ सहकार्य शुरु गरेपछि सो पार्टीका दुई खेमा आमने-सामने भएका छन् । विकसित राजनीतिक घटनाक्रममा अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव परस्पर दुई धारमा उभिएपछि पुरानो विवाद थप बल्झिएको हो । 

नयाँ सत्ता समीकरण घोषणा भएकै दिन बाबुराम चर्को विरोधमा उत्रिएका थिए । प्रधानमन्त्री प्रचण्डले सत्ता स्वार्थका लागि सरकार परिवर्तन गरेको आरोप लगाउँदै उनले उक्त कार्यलाई सकारात्मक रुपमा नलिने बताएका थिए । यसबारे थप छलफल गर्न भन्दै बाबुरामले आगामी चैत ४ गते पार्टीको केन्द्रीय कार्यकारिणी समिति र ५ गते केन्द्रीय समितिको पूर्ण बैठक बोलाएका छन् ।  

तर,अर्का अध्यक्ष महिन्द्र भने सत्ता समीकरण परिवर्तनको पक्षमा प्रष्ट खुलेका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत माग्दै हिजो माओवादी केन्द्रकै तर्फबाट संसद बैठकमा बोलेका उनले पुरानो गठबन्धनभन्दा नयाँ गठबन्धन प्राकृतिक भएको दावीसमेत गरेका थिए ।

यसैबीच महिन्द्र पक्षले बाबुरामले बोलाएको बैठक बहिष्कार गर्ने जनाएको छ । महासचिव रमेशप्रसाद यादवले आज विज्ञप्ति सार्वजनिक गर्दै चैत ४ र ५ गते पार्टीको बैठक नभएको बताएका छन् । 

‘नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक मिति २०८० चैत ४ र ५ गते बोलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ',विज्ञप्तिमा भनिएको छ, 'अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महिन्द्र राय यादवको सहमतिबिनै एकपक्षीय रूपमा अध्यक्ष डा. बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकोले उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु ।'

नेसपा र माओवादी केन्द्रबीच चुनावअघि नै पार्टी एकता गर्ने सहमति थियो । सोही आधारमा उसका उम्मेदवारहरु माओवादीको हँसिया हथौडा लिएर चुनाव लडेका थिए । माओवादीकै चिन्हबाट चुनाव जितेका महिन्द्रराय यादव अघिल्लोपटक प्रचण्ड नेतृत्वको सरकारमा मन्त्रीसमेत भए । 

सो पक्ष पूर्वसहमतिअनुसार माओवादीसँग एकीकरण गर्नुपर्ने पक्षमा रहँदै आएको छ । तर पार्टी एकताको विपक्षमा रहेका बाबुराम भने माओवादीमा मिसिन तयार छैनन् । पार्टीको बहुमत पक्ष एकताको पक्षमा उभिएपछि लत्रिंदै आएका उनी अब भने पार्टी फुटे पनि एक्लै अघि बढ्ने रणनीतिमा रहेको उनका सार्वजनिक अभिव्यक्तिहरुबाट बुझिन्छ । 

नेसपाको केन्द्रीय समितिले माओवादी एकता गर्ने औपचारिक निर्णय यसअघि नै गरिसकेको छ ।


 

टिप्पणीहरू