जनप्रतिनिधिद्वारा प्रशासकीय अधिकृत कुटिए, कार्यालय बन्द गर्ने कर्मचारीहरुको चेतावनी

जनप्रतिनिधिद्वारा प्रशासकीय अधिकृत कुटिए, कार्यालय बन्द गर्ने कर्मचारीहरुको चेतावनी

डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमा जनप्रतिनिधिहरुले निर्घाट कुटेको बताइएको छ । 

कुटपिटबाट जोशीको टाउकोमा गम्भीर चोट लागेको छ । तीन वटा टाँका लगाइएका उनको जोगबुढा अस्पतालमा उपचार जारी छ । उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका वडाध्यक्ष कर्णबहादुर धामी र १ नम्बरका वडाध्यक्ष लालबहादुर धामीलगायतको समूहले जोशीमाथि कुटपिट गरिएको मेयर भरत बडायर जोशीले जानकारी दिए । उनले जनआस्थासँग भने, ’कार्यपालिकाको बैठक बसिरहेको थियो । अचानक उहाँमाथि सामूहिक कुटपिट भयो । उहाँहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा नभएपछि हात हालेको देखिन्छ ।’

 

यसअघि पनि उनीहरुले अधिकृत जोशीलाई बारम्बार जागिर खाइदिने धम्की दिएको मेयर जोशीले बताए । उपमेयर बोहरासहितको समूहले निजी स्वार्थका लागि अधिकृत जोशीलाई गैरकानूनी कामका लागि दबाद दिँदै आएको बताइन्छ । मेयर जोशीले भने, ’उहाँहरु आफैँ जनप्रतिनिधि हो । त्यसमाथि उपमेयर र वडाध्यक्ष जस्तो जिम्मेवार पदमा हुनुहुन्छ । तर लाज पचाएर हात नै हाल्नुभयो, यो त अति भयो ।’

 

घटनापछि नगरपालिकामा कार्यरत कर्मचारीहरुले विज्ञप्ति जारी गरेर अत्यावश्यक सेवाबाहेक सबै काम अनिश्चितकालीन तवरले  बन्द भएको घोषणा गरेका छन् । घटनाको सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही नहुञ्जेल कार्यालय बन्द गर्ने कर्मचारीले निर्णय गरेका छन् ।

टिप्पणीहरू