रिसोर्टमा सुरक्षा सल्लाहकारको निचोड:पहिले आफू बलियो हुनुपर्यो

रिसोर्टमा सुरक्षा सल्लाहकारको निचोड:पहिले आफू बलियो हुनुपर्यो
सुन्नुहोस्

छिमेकी राष्ट्रहरु चीन र भारत आर्थिक विकासको दौडमा छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भइसकेको चीन पहिलो हुने लक्ष्यमा छ । भारतले पनि आगामी २३ वर्षभित्र विकसित मुलुक हुने बताएको छ । 

भारतले बेलायतबाट स्वतन्त्र भएको एक शताब्दी पुग्ने भएकाले सन् २०४७ सम्म विकसित मुलुकको लक्ष्य राखेको बताइन्छ । उत्तर र दक्षिणका छिमेकी विकास र आर्थिक सम्पन्नतातर्फ अघि बढेको अवस्थालाई हामीेले पनि आफ्नो पक्षमा पार्न सक्नुपर्ने विज्ञहरुले बताएका छन् । त्यसका लागि आर्थिक कूटनीति सबैभन्दा बलियो माध्यम हो भने प्रतिस्पर्धाको लागि हाम्रो आन्तरिक क्षमतासमेत सुदृढ र एकताबद्ध हुनुपर्ने निचोड निकालिएको  छ । 

यो निचोडमा हिजो राजधानीको गोकर्ण रिसोर्टमा भेला भएका सरकारी कर्मचारी र अधिकारीहरु पुगेका हुन् । भारत र चीनको समृद्धिलाई नेपालले अवसर र चुनौतिको रुपमा लिएर अघि बढ्न सल्लाह दिइएको छ । तर त्यसका लागि नेपाल र नेपालीको राष्ट्रिय क्षमता वृद्धि पहिलो शर्त हुने उल्लेख छ ।

परराष्ट्र मन्त्रालयले आयोजना गरेको वार्षिक ओरिएन्टेसन कार्यक्रममा व्यक्त "कि नोट स्पिच"मा ती कुराहरु अभिव्यक्त भएका हुन् । राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व परराष्ट्र सचिव एवम् पूर्व मुख्यसचिव शंकरदास बैरागीले कि नोट स्पिच दिनुभएको थियो । अरुका स्वार्थलाई बुझेर आफ्नो मुलुकको स्वार्थ र हितमा कदम चाल्नुपर्नेबारे कार्यक्रमका सहभागीलाई बुझाइएको थियो ।

आन्तरिक उत्पादन र क्षमता वृद्धिको उदाहरण दिँदै सहभागी एक जना अधिकृतले भने, ‘चीनले कुनै एउटा निश्चित परिमाणमा कृषि उत्पादन नेपालबाट माग्यो भने हामी दिन सक्ने अवस्थामा छैनौं । ठूला अर्थतन्त्र भएका मुलुकले सामान माग गर्दा कम्तीमा दशौं लाख किलोग्रामको चाहनासहित गुणस्तरलाई हेर्ने गर्छन् । त्यसैले पहिले क्षमता बढाउनुपर्यो । विशेषगरी चीनसँगको कनेक्टिभिटी बढाउनुपर्यो । अहिलेको कामचलाउ अवस्थामा सुधार ल्याउनुपर्यो ।’ 

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुभएको उक्त कार्यक्रममा सैद्धान्तिक कुरामा बढी जोड दिइएको थियो । पछिल्ला वर्ष हाम्रा कारणले छिमेकीहरु र उनीहरुका कारणले हाम्रो चित्त दुखेको वा मन कुँडिएको बारेमा वार्षिक समीक्षामा केही पनि उल्लेख नगरिएको बताइन्छ । त्यहाँ भारतले इपिजी प्रतिवेदन हालसम्म ग्रहण नगरेको विषयजस्ता कूटनीतिक क्षेत्रका महत्वपूर्ण विषयमा भने केही पनि उल्लेख नगर्नु आफैँमा अचम्मलाग्दो भएको सहभागीहरुको भनाई  छ ।

टिप्पणीहरू