प्रचण्ड सरकारलाई भोट दिन हानथाप गर्नेहरु प्रदेशमा काँग्रेसतिर

प्रचण्ड सरकारलाई भोट दिन हानथाप गर्नेहरु प्रदेशमा काँग्रेसतिर
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको संघीय सरकारलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा भने फरक निर्णय गरेको छ । 

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा भएको आन्तरिक विवादले झण्डै विभाजनमा पुगेको सो पार्टीका बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेका छन् । पार्टीको प्रदेशसभा संसदीय दलको आजको बैठकले त्यहाँको काँग्रेस नेतृत्वको सरकारलाई सघाएर जाने निर्णय गरेको नेता घनश्याम चौधरीले बताए । 

सुदूरपश्चिम प्रदेश सभामा नाउपाका सात सांसद छन् । बैठकमा पाँच जना उपस्थित थिए । अनुपस्थित दुई जना सरकारमै रहेकाले उनीहरुको पनि निर्णयमा सहमति लिइएको बताइएको छ । 

संघमा नयाँ गठबन्धन बनेसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा छन् । सरकार जोगाउन उनले सात सांसद रहेको नाउपाका चार जनालाई मन्त्री बनाएका हुन् । तर, मुख्यमन्त्रीले विश्वासको मत पाउने गणित भने अझै प्रष्ट भइसकेको छैन । 

यसअघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेमा अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरीबीच चर्को विवाद देखिएको थियो । अन्ततः प्रधानमन्त्रीलाई विश्वासको मत दिने रञ्जिताको लाइनमा उभिएको नाउपाले प्रदेशमा भने रेशमको चाहनाअनुसार काँग्रेस कित्तामा उभ्याएको हो ।

टिप्पणीहरू