संसद बैठकमा सम्झौता पेश गरिँदै, काँग्रेस अवरुद्धको तयारीमा

संसद बैठकमा सम्झौता पेश गरिँदै, काँग्रेस अवरुद्धको तयारीमा

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे डाकिएको छ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता पेश गर्ने कार्यसूची छ । 

त्यस्तै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेक बडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव र कानुनमन्त्री पदम गिरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

आगामी बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफललाई पनि आजको बैठकको सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । तर, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आजको बैठक पनि अवरुद्ध गर्ने तयारी गरेको बताइन्छ । 

काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको छ । जवाफ नआएसम्म संसद चल्न नदिने भन्दै केही दिनयता संसद् अवरुद्ध गर्दै आएको छ । 

काँग्रेसले आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल नरोक्ने जनाए पनि कार्यसूचीका अन्य प्रस्तावमाथि छलफल हुने सम्भावना कम देखिन्छ ।

टिप्पणीहरू