आफैले आगजनी गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

आफैले आगजनी गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

सरकारी निवासमा आफैले आगजनी गरेको अभियोगमा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् ।

फागुन २४ गते राती मार्मा गाउँपालिका परिसरमा प्रमुख प्रशासकीय अधिकृतको निवासमा आगजनी र ढुंगामुढा प्रहारको घटना भएको थियो । सुरुमा अज्ञात समूहबाट गरिएको भनिए पनि प्रहरी अनुसन्धानबाट प्रमुख प्रशासकीय अधिकृत आफैले आगजनी गरेको खुलेको छ । 

चैत्र ४ गते प्रहरीले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चैत्र ४ गते पक्राउपूर्जी थमाएर अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भोलिपल्ट ५ गते जिल्ला अदालतमा उपस्थित गराइ ७ दिनको अनुसन्धान म्याद लिइएको प्रहरी निरीक्षक ज्ञानेन्द्रवहादुर सिंहले बताउनुभयो। 

प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी आफैले आगजनीको घटना गराएको निस्कर्षमा प्रहरी पुगेको छ । घटनाको भोलिपल्ट फागुन २५ गतेदेखि सदरमुकाम खलंगामा रहेका अधिकारी कर्मचारी आवाश भवनको पाहुना कोठामा बस्दैआएका थिए । प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारीहरुले उनलाई कर्मचारी आवाशमा बसाल्दैआएका थिए । १० दिनदेखि सिडिओकै भान्साबाट खाना खाइरहेका अधिकारीलाई हिरासतमा राखेर थप अनुसन्धान गर्ने निस्कर्षमा प्रहरी पुगेको छ । 

घटनाको सुरुमा कुनै अज्ञान व्यक्ति वा समूहले प्रमुख प्रशासकीय अधिकृतलाई धम्काएको हुनसक्ने अनुमान प्रहरीको थियो । तर घटनाको गहिरो अध्ययन गरेपछि प्रमुख प्रशासकीय अधिकृत स्वयंले घटना गराएको तथ्य खुलेपछि प्रहरीको मुद्दाको प्रक्रिया अघि बढाएको हो । 

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा १४ (३) बमोजिम जिल्ला अदालतबाट ७ दिनको अनुसन्धान म्याद प्रहरीले पाएको छ । प्रहरीले १० दिनको अनुसन्धान म्याद मागेकोमा जिल्ला अदालतबाट ७ दिनको अवधि प्राप्त भएको छ। 

प्रहरीको अनुसन्धान र निस्कर्षसंगै मार्मा गाउँपालिका उपाध्यक्ष सर्मिला कुमारी चन्द सिंहसहितले घटनामा प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीको संलग्नता भएको किटानी जाहेरी दिएका छन् । स्रोतका अनुसार गाउँपालिका उपाध्यक्ष सिंहसंगै प्रवक्ता धिरेन्द्र सिंह धामी र वडा नम्बर ५ का वडाअध्यक्ष सुरेन्द्र सिंह महताले चैत्र ४ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए । 

अधिकारीमाथि अपराधिक उपद्रव गर्न नहुने मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । आगजनीको घटनालगत्तै निजामति कर्मचारी संगठनहरु र कतिपय सरोकारवालाहरुले तत्काल छानविन र दोषिमाथि कारवाहीको माग गर्दै विज्ञप्ति निकालेका थिए । कर्मचारी संगठनहरुका जिल्ला स्तरीय समितिका साथै केन्द्रीय समितिहरुले समेत घटनाबारे चासो र चिन्ता राखेका थिए । 

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमाथिको घटनालाई सबैतिर गम्भीर रुपमा हेरिएपछि वरिष्ठ प्रहरी उपरीक्षक दिल्लीराज विष्ट नेतृत्वको टोलीले फागुन २६ गते मार्मा गाँउपालिका केन्द्र लटिनाथ पुगेर स्थलगत निरीक्षण र अनुसन्धान गरेको थियो । फागुन २४ गते घटना भएको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक गोविन्द भण्डारी नेतृत्वको छुट्टै अनुसन्धान टोली पनि गाउँपालिका केन्द्रमा खटिएको थियो । भण्डारी नेतृत्वको टोलीले लगातार ४ दिनसम्म लटिनाथमा बसेर अनुसन्धान गरेको थियो भने वरिष्ठ प्रहरी उपरीक्षक विष्टको टोली भोलिपल्ट फागुन २७ गते लटिनाथबाट फर्किएको थियो । 

घटना भएको एक साता भइसक्दा पनि घटनाबारे कुनै तथ्य बाहिर सार्वजनिक नभएपछि प्रहरी अनुसन्धानमा ढिलाइ भएकोबारे प्रश्न उठेको थियो । चैत्र २ गते प्रमुख जिल्ला अधिकारी किरन जोशी र जिल्ला प्रहरी कार्यालय प्रमुख एवं डिएसपी शिववहादुर सिंहले घटनास्थलको भ्रमण गरेका थिए । प्रजिअ र डिएसपीको टोलीले मार्मा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुसंग घटनाबारे जानकारी लिएका थिए । 

एसएसपी विष्टको स्थलगत भ्रमण, प्रहरी निरीक्षक भण्डारीको अनुसन्धान निस्कर्ष र प्रजिअसहितको भ्रमणपछि घटनामा प्रमुख प्रशासकीय अधिकृत स्वयंको संलग्नता रहेको तथ्य बाहिर आएको हो । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाण्डौं जिल्लाको नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवनमा बसोवास गर्ने अधिकारी २०८० भदौंदेखि मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । २६ वर्षिय अधिकारीले किन आगजनीको घटना गराए भन्नेबारे सबैकुरा खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गर्नेकार्य जारी रहेको बताएको छ । 

जाहेरी दरखास्त, घटनास्थलको मुचुल्का, बरामद मुचुल्का, मोबाइल कल डिटेल विश्लेषण र बुझिएका मानिसहरुको घटना विवरण कागजका आधारमा अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपरेको प्रहरीको भनाई छ । 
प्रहरी हिरासतमा नराख्दा प्रतिवादी व्यक्ति भागी उम्की जानसक्ने र थप प्रमाणहरु नष्ट हुनसक्ने भएकोले प्रहरीले जिल्ला अदालतसंग हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद मागेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा २८५ बमोजिम जिल्ला अदालतबाट ७ दिनको अनुसन्धान म्याद प्रहरीलाई दिइएको छ । 

किन गरियो आगजनीको घटना ? 

स्रोतका अनुसार फागुन २४ गते प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी र इलाका प्रहरी कार्यालय लटिनाथका इन्चार्ज एवं प्रहरी निरीक्षक दर्शन खड्का दुबैले मार्मा गाउँपालिका क्षेत्रमा पर्ने चमेलिया नदी किनारमा सञ्चालन गरिएका दुइटा क्रसर उद्योगमा स्थलगत भ्रमण गरेका थिए । 

सोही मितिमा अधिकारीले क्रसर उद्योग सञ्चालन गरिरहेका दुइटा निर्माण कम्पनीलाई गाउँपालिकाबाट पत्राचार गरी यथाशीघ्र क्रसर बन्द गर्न जानकारी गराएका थिए । ‘अनुमति विना क्रसर उद्योग सञ्चालन गरिरहेको गाउँपालिका स्तरीय अनुगमनबाट देखिन आएको’ भन्दै ‘यस्ता कार्य प्रचलित कानुन विपरित भएकोले यथाशीघ्र क्रसर बन्द गर्न’ पत्रमा भनिएको छ । साथै यो निर्देशनको अवज्ञा गरेमा कानुन बमोजिम प्रक्रिया अघि बढने व्यहोरा पनि पत्रमा उल्लेख गरिएको छ । 

त्यसैदिन मार्मा गाउँपालिका क्षेत्रमा अवैध रुपमा सञ्चालित मदिरा पसल २४ घण्टाभित्र बन्द गर्न भन्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सुचना सार्वजनिक पनि गरेका थिए । क्रसर उद्योग र मदिरा पसल बन्द गराउने प्रयासले गर्दा त्यसै दिन रातीको समयमा प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको धेरैको आशंका थियो । धेरैजसोले क्रसर उद्योग र मदिरा पसल सञ्चालकमाथि आशंका गरे पनि घटनाक्रम र प्रहरी अनुसन्धानले अधिकारीलाई नै कठघरामा उभ्याएको छ । 

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले क्रसर उद्योग सञ्चालन गरिरहेका निर्माण व्यवसायीबाट आर्थिक संकलन गर्न खोजेको तर पैसा प्राप्त नभएपछि अनुगमन गर्ने र क्रसर उद्योग बन्द गर्नेबारे पत्राचार गरिएको एकथरीको बुझाइ छ । ‘क्रसर उद्योगबारे अनुगमन गर्दा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यलगायत कुनै पनि जनप्रतिनिधि सहभागी छैनन्, प्रमुख प्रशासकीय अधिकृतले प्रहरी निरीक्षक खड्कालाई साथमा लिएर स्थलगत भ्रमण गरेका छन्’ मार्मा गाउँपालिकाका एकजना जनप्रतिनिधिले भन्नुभयो । 

‘एकैदिन क्रसर उद्योगको अनुगमन भ्रमण गरिनु, सोही दिन क्रसर उद्योग बन्द गर्न पत्राचार गरिनु, अधिकारीसंगै प्रहरी निरीक्षक खड्का अनुगमनमा जानु र त्यसैराती आगजनीको घटना हुनुले अधिकारीले आत्मघाति घटना गरेको पुष्टि हुन्छ’ ती जनप्रतिनिधिले भन्नुभयो । प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय लटिनाथका इन्चार्ज रहेका प्रहरी निरीक्षक दर्शन खड्काले प्रमुख प्रशासकीय अधिकृतको आग्रहमा आफु क्रसर उद्योगको अनुगमन भ्रमणमा सुरक्षार्थ गएको बताएका छन् । एसएसपी विष्ट र प्रहरी निरीक्षक भण्डारीको अनुसन्धान टोलीसंग खड्काले अधिकारीले सुरक्षा माग गरेपछि आफु अनुगमनमा संगै गएको बताएका छन् । 

क्रसर उद्योगबाट पैसा नपाएको रिसले आगजनीको घटना प्रपञ्च गरिएको विश्लेषण पनि गरिएको छ । ‘केही महिनादेखि प्रमुख प्रशासकीय अधिकृतले मार्मा गाउँपालिकामा बस्न चाहेका थिएनन्, आगजनीको घटना देखाएर आफु मार्माबाट सरुवा हुने चक्करमा अधिकारी रहेछन्’ स्रोतको भनाई छ । 

‘क्रसर उद्योगको स्थलगत अनुगमन गरेको र बन्द गर्न पत्राचार समेत गरेको पृष्ठभूमिमा घटनाको दोष अरुलाई जानसक्ने अवस्थामा आगजनी गरिएको देखिन्छ, तर वास्तविकता लुकाउन सकिदैन’ मार्मा गाउँपालिकाका अर्का जनप्रतिनिधि भन्छन्– ‘क्रसर उद्योगको अनुगमन र नियमनको कार्य विधिसम्मत रुपमा गर्नुपर्छ तर आफैले आगजनी गरेर अरुलाई दोष दिने र मार्मा गाउँपालिकाकै बदनामी गर्ने दुस्प्रयास गरिएको छ ।’

मार्मा गाउँपालिका कार्यालय परिसर र इलाका प्रहरी कार्यालय संगै जोडिएका छन् । कार्यालय परिसरमै आवाश बनाएका प्रमुख प्रशासकीय अधिकृतले घटना भएको राती आफ्ना भान्छेलाई घरविदामा पठाएको तथ्य खुलेको छ । आफ्नो काका नाता पर्ने एकजना आफन्तको मृत्यु भएको झुटो जानकारी पनि उनले ती भान्छेलाई दिएका थिए । 

प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीले स्थानीय पसलबाट लाइटर खरिद गरेको र घटनापछि कार्यालय परिसरको बाहिर लाइटर फेला परेको स्रोतले बतायो । आगजनीबाट कोठाभित्र एउटा ल्यापटप र केही सामान जलेका छन् । अधिकारीले आफ्ना कपडा र झोलासहितका सामान भने सुरक्षित राखेको देखिएको स्रोतको भनाई छ । आफ्ना कपडा र सामान सबै झोलामा सुरक्षित राखिएका छन्, आगजनी र ढुंगामुढा भएको जानकारी दिनेक्रममा फागुन २४ गते राती अधिकारी चश्मा लगाएर इप्रका परिसरमा पुगेका थिए । अधिकारीको चश्मा, मोबाइल लगायतका सामानहरु सुरक्षित देखिनु र बाह्यपक्षबाट घटना भएकोबारे अन्य शंकास्पद हर्कत नदेखिदा प्रहरीले अधिकारीमाथि नै अनुसन्धान थालेको छ। 

फागुनको सुरुमै काठमाण्डौं गएका मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले आगजनीको घटनालगत्तै तत्काल छानविनको माग गरेका थिए । गाउँपालिकाको बदनाम हुने गरी घटना गराइएकोले आफु दुखित र गम्भीर भएको उहाँको भनाई छ । ‘हाम्रो गाउँपालिकाको बदनामी हुनेगरी घटना गरियो र गलत ढंगले हल्ला र आशंकाहरु गरिए’ उहाँले भन्नुभयो, ‘तत्काल घटनाको छानविन गरी वास्तविकता बाहिर ल्याउन र दोषिमाथि कारवाहीको माग गरेको छुँ ।’ व्यक्तिगत र पार्टी कामविशेषले आफुले एक महिनादेखि काठमाण्डौंमा रहेको बेला गाउँपालिकामा आगजनीको गम्भीर घटना भएको र घटनाको वास्तविकता सार्वजनिक गर्न ढिलाइ भएको उहाँको भनाई छ । 
 

टिप्पणीहरू