हिजो मेयरलाई मार्ने धम्की, आज आत्महत्याको प्रयास

हिजो मेयरलाई मार्ने धम्की, आज आत्महत्याको प्रयास

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मार्ने धम्की दिएका  युवकले लगत्तै विष सेवन गरेका छन् । वडा नम्बर ६, मटियारीका २८ वर्षीय गणेश रानाले उपमहानगरको हाताभित्र विष सेवन गरेर आत्महत्याको प्रयास गरेको बताइन्छ ।  

अचेत अवस्थामा फेला परेका उनलाई नगरप्रहरीले तत्काल उद्धार गरेर सेती प्रादेशिक अस्पताल पुर्याएको थियो । हाल उनको अवस्था सामान्य रहेको धनगढी उपमहानगरीय प्रहरी बलका प्रमुख नगर प्रहरी निरीक्षक भुपेन्द्र खड्काले बताए । 

उनले भने, ‘मेयरसाबलाई धम्काउने व्यक्ति उहाँ नै हुनुहुँदो रहेछ । विष सेवन गरेको थाहा पाएपछि हामीले तत्काल अस्पताल पुर्यायौं । अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’

मेयर हमालले आफूलाई ह्वाट्सएपमार्फत् ज्यान मार्ने धम्की आएको भन्दै हिजो जिल्ला प्रशासन कार्यालय, कैलालीमा सुरक्षा माग गर्दै निवेदन दिएका थिए । ज्यानको सुरक्षा गरिदिन आग्रह गरिएको निवेदन प्रशासनले जिल्ला प्रहरी कार्यालय, कैलालीमा पठाइदिएको थियो । 

कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदीप चन्दका अनुसार रानाले आज बिहान १० बजे आफैंं कार्यालयमा उपस्थित हुने बताएका थिए । ‘हामीले निवेदन आएपछि सो नम्बरमा फोन गर्यौ । उहाँले फोन उठाएर बाहिर छु, भोलि बिहान १० बजे आउँछु भन्नुभयो । तर, बिहान विष सेवन गरेको र हाल उपचार भइरहेको जानकारी पाएका छौं’, उनले भने ।

टिप्पणीहरू