नाले बन्दुक चलाउने प्रहरी अत्याधुनिक पेस्तोलबारे बेखबर रहेको दुर्गा प्रसाईंको आरोप

नाले बन्दुक चलाउने प्रहरी अत्याधुनिक पेस्तोलबारे बेखबर रहेको दुर्गा प्रसाईंको आरोप
सुन्नुहोस्

विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको हिजो फेला परेको पेस्तोलको मोडल र लाइसेन्समा लेखिएको विवरण फरक परेको छ । प्रहरीका अनुसार लाइसेन्समा उल्लेख भएको पेस्तोलको मोडल र बरामद हतियार फरक रहेकाले हिरासतमा रहेका उनका अंगरक्षकहरु दिपक खड्का र रामकुमार धिमाललाई छाड्न नमिल्ने प्रहरीले बताइसकेको छ । 

आज साँझसम्म उनीहरुलाई हिरासतमुक्त नगराए कानुनी उपचारको निम्ति  अदालत जाने बताइएकाे थियाे । खड्का र धिमालकाे परिवारले आज सर्वोच्च अदालत गुहारेका छन् । सरकारले नै हतियारको लाइसेन्स दिएको र आफैँले पक्राउ गरेको प्रसाईंको आरोप छ । 

‘विगत छ वर्षदेखि आफ्नो साथमा रहेको हतियारले हिजो अचानक के गर्यो ?,’ उनले प्रश्न गरेका छन् । भनेका छन्, ‘मलाई मार्न सुपारी दिइएको खबर पाएको छु, मेरो ज्यान खतरामा छ, दुई जना सुरक्षाकर्मी दिनुपर्यो भनेर मैले झापा सिडिओ कार्यालयमा निवेदन दिएको थिएँ । नपाएपछि आफैं भए पनि सुरक्षित रहन मैले हतियारको लाइसेन्स बनाएको हुँ ।’ 

उनले सोही सन्दर्भमा प्रहरी संगठनलाई नै व्यङ्ग्य गरेका छन् । अहिलेसम्म नाले बन्दुक र खेलौनाजस्तो पेस्तोल चलाएका प्रहरीलाई आफ्नो अत्याधुनिक हतियारबारे केही थाहा नभएको उनको तर्क छ । पेस्तोलको बखान गर्दै उनले भनेका छन्, ‘जर्मनीबाट मगाएको उक्त पेस्तोलको मूल्य लगभग २२ लाख पर्यो । एकै पटकमा ३६ राउण्ड गोली लोड हुन्छ । मसँग दुई सय राउन्ड गोली छ । हिजो केटाहरुले सय राउन्ड गोली मात्रै बोकेका थिए ।’

टिप्पणीहरू