भारतीय प्रधानमन्त्री आउँदा साइकल चलाउन बन्देज

भारतीय प्रधानमन्त्री आउँदा साइकल चलाउन  बन्देज
सुन्नुहोस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको राजकीय भ्रमणमा जान लागेका छन् । दुई दिनका लागि मोदी भोलि बिहान थिम्पु पुग्ने कार्यक्रम छ । 

भुटानले भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमण अवधिभर साइकल पनि चलाउन नपाइने गरी सवारी प्रतिबन्ध जारी गरेको छ । भोलि पारो विमानस्थलबाट अन्यत्र जाने यात्रुलाई बिहान ७ बजेअघि वा ११ बजेपछि मात्रै थिम्पुबाट निस्कन पाइने बताइएको छ।

ट्राफिक प्रहरीले राजधानी थिम्पुको नोर्जिन लाम सडक आज साँझदेखि पर्सि भारतीय पाहुना नफर्केसम्म बन्दको घोषणा गरेको छ । त्यहाँ पर्सिसम्म सवारी साधन सञ्चालनमा रोकसमेत लगाइएको छ । भनिएको छ, ‘पाहुनाको सवारी साधन गुड्ने रुटमा साइकल चलाउन पनि पाइने छैन।’

भुटानी प्रधानमन्त्री दासो छिरिङ तोब्गेले गत साता नयाँ दिल्लीको भ्रमण गरेका थिए । सो क्रममा नरेश जिग्मे खेसर नामग्यालले पठाएको निम्तो प्रधानमन्त्री तोब्गेले मोदीलाई हस्तान्तरण गरेका थिए । निम्तो पाएको एक साता नबित्दै उनी भोलि थिम्पु जान लागेका हुन् ।
 

टिप्पणीहरू