दलसम्बन्धी ऐन संशोधन गर्न मस्यौदा समिति गठन
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ । आयोगका सचिवको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएको हो ।
सम्बन्धित निर्वाचन आयुक्तको संयोजकत्वमा निर्देशन समिति समेत गठन गरी कार्य प्रारम्भ गरेको आयोगले जनाइएको छ । आयोगद्धारा आज जारी विज्ञप्तिमा संविधान र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै संशोधन प्रक्रिया अघि बढाएको उल्लेख छ ।
'दलहरुको दर्ता व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउन हालको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न आयोगले सम्बन्धित निर्वाचन आयुक्तको संयोजकत्वमा ऐन संशोधन निर्देशन समिति र आयोगका सचिवको संयोजकत्वमा ऐन संशोधन मस्यौदा समिति गठन गरी आवश्यक कार्य प्रारम्भ गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
राजनीतिक दलको व्यवस्थापन र नियमन सबैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै आयोगले मौजुदा कानूनमा संशोधन गर्नुपर्ने विषयहरुमा रायसुझाव पठाउन पनि सरोकारवालाहरुलाई अनुरोध गरेको छ ।
टिप्पणीहरू