योजना आयोगमा चार सदस्य नियुक्त, चुडामणि सचिवमा बढुवा

योजना आयोगमा चार सदस्य नियुक्त, चुडामणि सचिवमा बढुवा फाइल फोटो
सुन्नुहोस्

सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा चार जनाल़ाई नियुक्त गरेको छ । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रा.संगीता सिंह, डा.कुसेन्द्रबहादुर महत, प्रा. शिवराज अधिकारी र डा. अरनिकोकुमार पाँडेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उनीहरु सत्तारुढ दल एमाले र रास्वपाको कोटाबाट आयोगको सदस्य बनेका हुन् । 

गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले लगायतका दलसँग नयाँ समीकरण बनाएपछि आयोगका तत्कालीन सदस्य डा.प्रभु बुढाथोकी, डा. आरपी विच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले सदस्य पदबाट राजीनामा दिएका थिए । बुढाथोकी, विच्छा र ढुंगाना काँग्रेस तथा राउत जनमत पार्टीको कोटाबाट नियुक्त भएका थिए । 

आजको क्याबिनेट बैठकले प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गरेको छ । 

त्यस्तै, नेपाल र गणतन्त्र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली तीन जना गरी १० जना पर्वतारोहीलाई सिन्धुपाल्चोकमा अवस्थित जुगल १ (६५९१ मीटर) र जुगल– २ (६५१८ मीटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय पनि भएको छ ।

टिप्पणीहरू