मुद्दाको टुंगो नलागेसम्म रवि नैतिक रुपले गृहमन्त्रीमा अयोग्य : रमेश खरेल

मुद्दाको टुंगो नलागेसम्म रवि नैतिक रुपले गृहमन्त्रीमा अयोग्य : रमेश खरेल
सुन्नुहोस्

‘अर्काको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी पनि नदेख्ने’ टिप्पणी यतिखेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा लागु हुन थालेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिसमेत रहेका रविमाथि पोखराको सूर्यदर्शन, काठमाडौँको स्वर्णलक्ष्मीलगायत सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ । तर, विधिशास्त्रीय मान्यताविपरित स्वार्थ बाझिने गरि गृहमन्त्री बनेपछि सडकदेखि सदनसम्म चर्को आलोचना भइरहेको छ ।  

हरेक दिन गृहमन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले जनप्रतिनिधिहरुको सर्वोच्च थलो संसद अवरुद्ध गरिरहेको छ । आरोपित व्यक्ति नै छानबिन गर्ने निकायको प्रमुख हुँदा अनुसन्धान प्रभावित हुने भएकाले उनले पद छोड्नुपर्ने काँग्रेसको अडान रहँदै आएको छ । तर, आफूमाथि उठेका नैतिक प्रश्नको जवाफका लागि मन्त्री तयार छैनन् । 

रवि तीनै व्यक्ति हुन्, जो विगतमा राजनीतिमा शुद्धीकरण र नेताहरुको नैतिकतामाथि चर्का टिप्पणी गर्थे । २०७६ सालमा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बिचौलियासँग ७० करोड कमिसन मागेको टेप सार्वजनिक भएपछि उनले नैतिकताका आधारमा राजीनामा दिए । त्यसबेला सञ्चारकर्ममा रहेका रविले बाँस्कोटाको राजीनामा माग्दै फेसबुकमा उग्र टिप्पणी गरेका थिए । 

‘प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ र अविलम्ब छानविन शुरु हुनुपर्छ । राजीनामा नदिए कार्यकक्षबाटै पक्राउ गरिनुपर्छ’, उनले लेखेका थिए । आरोपित व्यक्ति पदमा रहँदा अनुसन्धान प्रभावित हुने भन्दै बाँस्कोटाको राजीनामा माग्ने रवि आज त्यस्तै प्रकृतिको आरोप बोकेरै मन्त्री खाइरहेका छन् । उनलाई न हिजो आफैँले उठाएको नैतिकताको प्रश्नले छोएको छ, न सुशासनको नाराले !

 

दुई पटक गृहमन्त्री भएका रविले पहिलोचोटी शंकाको लाभ उठाएका छन् । तर, ‘नाईं मलाई त्यहि केटी चाहिन्छ’ को शैलीमा सरकार जान रास्वपाले गृह मन्त्रालय पाउनै पर्ने र रवि नै गृहमन्त्री हुनुपर्ने शर्त बनाइएकाले अनेक आशंका उब्जाएको हो । कतिपयले भनेका छन्, ‘प्रहरीलाई प्रमाण नष्ट गर्न लगाउने र आफूमाथि लागेका आरोपबाट उन्मुक्ति पाउने खेलका लागि गृह मन्त्रालय मरिहत्ते गरिएको हैन ? 

रास्वपाबाटै बारा–२ मा उपचुनाव लडेका नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले पनि त्यस्तो आशंका गरेका छन् । एक टेलिभिजन कार्यक्रममा उनले गृहमन्त्रीलाई एक दर्जन प्रश्नसमेत सोधेका छन् । 

रविमाथि अहिले अनुसन्धान चलिरहेको र मुद्दा टुंगो नलाग्दासम्म उनी गृहमन्त्रीका लागि नैतिक र कानुनीरुपले योग्न नहुने खरेलको बुझाई छ । ‘प्रश्न तपाईंमाथि पनि छन् नि, गृहमन्त्रीज्यू, सहकारी ठगीको आरोपको जवाफ त तपाईंले नै दिने हो’, उनले भनेका छन् ।

भिडियो स्रोत: स्पेस फोरके टेलिभिजन

 

 

टिप्पणीहरू