त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो महानिर्देशक, रात परेपछि मन्त्री
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षणका लागि आज दिउँसो महानिर्देशक र साँझ परेपछि मन्त्री पुगेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल विमानस्थलको अवस्था बुझ्न साँझ त्यता जानुभएको बताइएको छ ।
मन्त्रालय स्रोतका अनुसार मन्त्रीको टोलीले साँझ ७ बजेदेखि आधा घण्टासम्म विमानस्थलको निरीक्षण गरेको थियो । टोली आगमन र प्रस्थान कक्षको स्थलगत गरेर साढे ७ बजे बाहिरिएको हो ।
आजै अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला पनि विमानस्थल निरीक्षणमा पुगेका थिए । महानिर्देशकको टोली साढे १२ बजे त्यहाँ पुगेर साढे ४ बजे फर्केको बताइन्छ ।
टोलीले अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षण गरेपछि कर्मचारीहरूसँग समस्याबारे चासो राखेको थियो । पछिल्लो केही समयदेखि अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा रहेका अध्यागमन डेस्कमा यात्रुहरुको लामो लाइन लाग्ने गरेको छ ।
टिप्पणीहरू