शैक्षिक कार्यतालिका कार्यान्वयनमा प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक कार्यतालिकाको प्रभावकारी कार्यान्वयन गर्न दिर्नेशन दिनुभएको छ ।
चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै उहाँले नर्सिङ क्षेत्रका समस्या समाधानका लागि गठित कार्यदलले दिएको सुझाव कार्यान्वयनमा लैजान दिर्नेशन दिनुभएको हो । वार्षिक शैक्षिक कार्यतालिका तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय रहेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
'वार्षिक शैक्षिक क्यालेण्डर तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहानीय कार्य हो', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'शैक्षिक क्यालेण्डरको कार्यान्वयन गर्न म सबैलाई आग्रह गर्दछु ।'
परीक्षा प्रणालीलाई थप विश्वसनीय बनाउन आवश्यक रहेकोमा जोड दिँदै उहाँले परीक्षा सञ्चालन, व्यवस्थापन, अनुगमन, नियमन, पठनपाठनमा प्रविधिको अधिकतम प्रयोग अपरिहार्य हुँदै गएको पनि बताउनुभएको छ
सबै मिलेर चिकित्सा शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधारहरू क्रमशः अगाडि बढाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले समस्या तथा चुनौतीहरूलाई सरोकारवालासँगको समन्वय र सहकार्यमा उपयुक्त मार्ग पहिल्याउनुपर्नेमा जोड दिनुभयो ।
'चिकित्सा शिक्षा अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील विषय हो', उहाँले भन्नुभयो, 'यो मानव समुदायको स्वास्थ्यसँग जोडिएको र सबैको चासोको क्षेत्र हो, यस क्षेत्रको नियमन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ ।”
टिप्पणीहरू