गृहमन्त्रीमाथि गोकुलको कटाक्ष - अराजकताको अन्त्य आदेशले हैन, कानुनले गर्छ
एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले समाज आदेशले नभई निश्चित नियम र प्रणालीबाट चल्ने बताएका छन् ।
हिजो गृह मन्त्रालयले जारी गरेको निर्देशनतर्फ लक्षित गर्दै उनले आज यस्तो धारणा राखेका हुन् । अराजकताको अन्त्य आदेश-निर्देशबाट नभई नियम र प्रणालीबाट गरिनुपर्ने बाँस्कोटाको भनाई छ ।
'सबै डिजिटल र साक्षात्कार मित्रका नाममा जारी ! हिजोको सूचना बहस थाहै नभै सकिएछ । सूचनाले तथ्य माग्छ तर अभिव्यक्तिले मत', उनले फेसबुकमा लेखेका छन्, 'प्रकृति,समाज,राजनीति, अर्थनीति सबै निश्चित नियम र प्रणालीबाट सञ्चालित हुन्छन् । ती तोडेपछि अराजकता जन्मन्छ । अराजकताको अन्त्य आदेश-निर्देशले हैन, नियम संगत प्रणालीले मात्र गर्छ ।'
गृह मन्त्रालयले हिजो प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत गर्नुपर्ने कामबारे ६८ बुँदे निर्देशन दिएको थियो । जसमा अनलाइन तथा छापा सञ्चारमाध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने विषय पनि उल्लेख थियो । तर, सर्वत्र आलोचनापछि उक्त निर्णय फिर्ता लिइएको छ ।
बाँस्कोटाले आफू सञ्चारमन्त्री भएका बेला मिडिया र समाजिक सञ्जालको नियमन गर्न कानुन बनाउन खोजेका थिए । त्यसको चर्को विरोध भएपछि उनी पछि हटेका थिए ।
टिप्पणीहरू