बहालवाल मुख्यमन्त्री समातिएको घटनाले भारतमा हङ्गामा, मोदी सरकारको चर्को आलोचना

बहालवाल मुख्यमन्त्री समातिएको घटनाले भारतमा हङ्गामा, मोदी सरकारको चर्को आलोचना

भ्रष्टाचारको आरोपमा हिजो साँझ पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई आज पिएमएलए अदालतमा पेश गरिदैछ । सर्वोच्च अदालत पुर्याइनुअघि प्रवर्तन निर्देशनालय (ईडी)ले साढे २ बजे पिएमएलए अदालत लैजान लागेको हो । 

बुझ्नैपर्ने कुरा के छ भने प्रवर्तन निर्देशनालय (इडी), कानून कार्यान्वयन गराउने भारतको सरकारी निकाय हो । पिएमएलए मनी लान्ड्रिङसँग सम्मन्धित मुद्धा हेर्ने अदालत हो । 

पिएमएलए अदालतको सुनुवाईपछि केजरीवाललाई सर्वोच्च अदालतमा पेश गरिने जनाइएको छ । त्यहाँ उनको पक्राउविरुद्धको मुद्धा न्यायाधीश संजिव खन्ना, वेला एम त्रिवेदी र एम एम सुंदरेशको संयुक्त इजालासमा सुनुवाई हुनेछ । 

आम आदमी पार्टीका नेता तथा मुख्यमन्त्री केजरीवालमाथि सन् २०२१ मा मदिरा नीति बनाउँदा एक अर्ब ४० करोड अनियमितता गरेको आरोप छ । हिजो पक्राउ पर्नुअघि पनि उनले तीनपटक इडीलाई बयान दिइसकेका थिए । बयानमा उनले आर्थिक अनियमिततामा आफ्नो कुनै संग्लनता नभएको र राजनीतिक निर्देशनकै आधारमा दु:ख नदिन आग्रह गरेका थिए । 

हिजो साँझ दुई घण्टामा के-के भयो ? 

इडीको टिम ९ वटा गाडी लिएर साँझ ७ बजे केजरीवालको घर पुगेको थियो । साढे ७ बजे आम आदमी पार्टीका प्रभावशाली नेता सौरभ भारद्धाज पनि त्यहाँ पुगेका थिए । तर, उनलाई बाहिरै रोकियो । त्यसपछि उनले केजरीवालको घरमा भइरहेको गतिविधिबारे सूचना सार्वजनिक गरे । 

८ बजे आम आदमीकै अर्का प्रभावशाली नेता राघव चड्डाले केजरीवाललाई पक्राउ गर्ने राजनीतिक षड्यन्त्र भइरहेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराए । त्यसको १० मीनेटपछि इडीको टिमले केजरीवालको मोबाइल पनि जफत गर्यो, त्यसबेलासम्म सामाजिक सञ्जालमा समचार फैलिसकेको थियो । मोबाइलमा लगातार फोन आइरहेको थियो । 

सवा ८ बजे घर बाहिर आम पार्टीका कार्यकर्ता जम्मा भएर नारावाजी सुरु गरे । साढे ८ बजे केजरीवालको घरबाहिर इडीका सुरक्षाकर्मी र कार्यकर्ताबीच झडप हुँदा स्थिति तनावग्रस्त भएको थियो ।  त्यसपछि पौने ९ बजे थप सुरक्षाकर्मी बोलाइयो र नारावाजीमा संलग्न सबैलाई पक्राऊ परे । त्यसक्रममा ४० भन्दा बढी कार्यकर्ता पक्राउ परेको समाचारहरुमा जनाइएको छ । 

त्यसको केही मीनेटमै केजरीवाललाई पक्राउ गरेर घरबाहिर ल्याइएको थियो । हिजो रातभर इडीकै हिरासतमै बिताएका उनको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ । उनलाई अदालत पेश गर्नुअघि आरआरएम अस्पतालका स्वास्थ्यकर्मीले चेकजाँच गर्दैछन् । 

यता, उनका समर्थक र आम पार्टीका कार्यकर्ताहरुले रिहाइको माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । प्रहरीले प्रदर्शनमा उत्रिएका दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजलगायत आम आदमी पार्टीका नेता/कार्यकर्तालाई पक्राउ गरेको छ । 

केजरीवालको गिरफ्तारीलाई विश्लेषकहरुले राजनीतिक दृष्टिकोणबाट पनि हेर्न थालेका छन् । तेस्रो पटक प्रधानमन्त्रीको दौडमा रहेका नरेन्द्र मोदीको कटु आलोचक केजरीवाललाई लोकसभा निर्वाचनको संघारमा पक्राऊ गरेर सरकारले विपक्षीलाई तर्साउने रणनीति बनाइएको टिप्पणी भैरहेको छ । कांग्रेस (आई) लगायत विपक्षीहरुले प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीको चर्को आलोचना गरिरहेका छन् । 

कतिपयले मुख्यमन्त्री केजरीवाल स्वयं मदिराविरुद्ध रहेको अन्तर्वार्ता दिइरहेका छन् । अन्ना हजारेले भनेका छन्, 'मलाई दुःख लाग्यो मदिरा विरोधी मान्छेले नै मदिरा नीतिमा भ्रष्टाचार गर्यो भन्दा ! यो घटना शुद्ध छैन । यहाँ षड्यन्त्र पक्कै छ ।'

यस घटनालाई लिएर पश्चिमा मिडियाहरुले पनि मोदी सरकारको आलोचना गरिरहेका छन् ।
 

टिप्पणीहरू