एमाले नआएपनि समाजवादी मोर्चा कायम रहन्छ : उपाध्यक्ष भुसाल

सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले सत्तारुढ नेकपा एमाले नआएपनि समाजवादी मोर्चामा कायम रहने बताउनुभएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मोर्चामा आवद्ध नहुने बताएको केहीबेरमै भुसालको उक्त प्रतिक्रिया आएको हो । वामपन्थी र समाजवादी पार्टी हुनुका नाताले एमाले आउनु राम्रो हुने भएपनि ऊ नआए पनि मोर्चा कायम रहने उहाँले प्रष्ट पार्नुभयो । 

समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै उपाध्यक्ष भुसालले सत्ता समिकरण फेरिएपछिको अवस्थामा मोर्चाप्रति एमाले भ्रमित रहन नहुने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै वृहत हुनसक्ने बताउनुभयो । 

एमालेसँग सत्ता सहकार्य भइरहेकाले मोर्चामा नआएपनि आपसी समझदारी भने कायम रहने उहाँको भनाई छ । उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आवद्ध पार्टीहरुका बीचमा नीति, कार्यक्रमहरुमा सहमति बन्दै गएमा एकताको तहसम्म पुग्नेसमेत बताउनु भएको छ । 

मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको  नीति, कार्यक्रम बनाउने उद्देश्य अनुरुप काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । उपाध्यक्ष भुसालले आम जनतालाई समाजवादको आन्दोलनमा संगठित गर्ने साझा मोर्चाको रुपमा समाजवादी मोर्चा रहेको प्रष्ट पार्नुभयो  । 

आगामी दिनमा वाम ध्रुविकरण गर्दै देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने आधार तयार गर्नुपर्नेमा उहाँको जोड छ ।

टिप्पणीहरू