घुस बुझेको साउनमा, मुद्दा दायर चैतमा

घुस बुझेको साउनमा, मुद्दा दायर चैतमा
सुन्नुहोस्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई देखेपछि घुसवापतको रकम फालेर भागेका सरकारी इञ्जिनियर समातिएका छन् । 

सामाजिक विकास इकाई कार्यालय सप्तरीका सबइञ्जिनियर अजयकुमार साफीलाई नियन्त्रणमा लिएर आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनीमाथि भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्न सेवाग्राहीसँग घुस लिएको अभियोग छ । 

अख्तियारका अनुसार सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित नवनिर्मित विद्यालय भवनको रकम निकासाका लागि उपभोक्तासँग साफीले ८० हजार रुपैयाँ घुस मागेका थिए । उपभोक्तासँग ७५ हजारमा कुरा मिलेपछि उनले १५ हजार नगद र ५५ हजारको चेक बुझ्दैगर्दा अख्तियारको टोली पुगेको थियो । 

त्यसपछि नगद र चेक फ्याँकेर भाग्न खोजेका उनलाई तत्काल नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान गरेको थियो ।  विशेष अदालतमा दायर आरोप पत्रमा साफीविरुद्ध ७० हजार रुपैयाँ बिगो र सो बमोजिमको जरिवानाका साथै कैद सजाय माग गरिएको छ ।

टिप्पणीहरू