अर्कैसँग सम्बन्ध गाँसेपछि प्रेमीले रेटे प्रेमिकाको घाँटी

अर्कैसँग सम्बन्ध गाँसेपछि प्रेमीले रेटे प्रेमिकाको घाँटी

सुनसरीको धरान उपमहानगरपालिका–१६ सुमना श्रेष्ठको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानले धनकुटा नगरपालिका–९ मूलघाटका १९ वर्षीय सविन भनिने बाबुराम भुजेललाई आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । बाबुराम सुमनासँग प्रेममा रहेको र सम्बन्धमा खटपट भएपछि उनले हत्या गरेको अनुसन्धानबाट खुलेको बताइएको छ ।

प्रहरीका अनुसार सुमना र बाबुराम दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । सामाजिक सञ्जालमार्फत गाँसिएको सम्बन्धमा गत पुसदेखि खटपट भएको र त्यो नै अन्ततः हत्याको कारण बनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बाबुरामले हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख, एसपी विपिन रेग्मीले बताए । 

उनका अनुसार ग्लोलोराइस धरानमा काम गर्न थालेपछि सुमना सोही कम्पनीमा काम गर्ने प्रदिप श्रेष्ठसँग नजिकिएकी थिइन् । त्यसपछि उनीहरुले फेसबुक आईडीसमेत एउटै चलाउने गरेको प्रहरीको अनुसन्धानमा प्रष्ट भएको हो । प्रेमिका अर्कैसँग सम्बन्धमा रहेपछि बाबुराम रिसाए । त्यहीकारण सम्बन्धमा चिसोपना आएको र यो घटना हुन पुगेको एसपी रेग्मीले बताए । 

चैत २ गते सुमिनालाई धनकुटाको मूलघाटमा लगेपछि सम्बन्ध अझ चिसिएको प्रहरीको भनाई छ । मंगलबार राति ९ उनीहरूबीच भेट भएको र फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएको पनि खुलेको छ । सोहीक्रममा बाबुरामले सुमनाको हत्या गर्ने योजना बनाएको प्रहरीको बुझाई छ ।

अस्ति बुधबार दिउँसो ३ बजेतिर धरान–१८ विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीच रहेको एकान्त खोल्सामा सुमनाको शव भेटिएको थियो । घाँटी रेटिएको अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले सिसिटिभी फुटेज र अन्य प्रमाण जुटाएर अनुसन्धान गरेपछि बाबुराम समातिएका हुन् । घटनाको दिन उनी मृतक सुमनासँगै स्कुटरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिरेको देखिएपछि प्रहरीले उनको खोजी गरेको थियो । 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

टिप्पणीहरू