गृहमन्त्री प्रहरी हिरासतको सट्टा अस्पताल रोज्ने प्रवृत्ति रोकाउँदै

गृहमन्त्री प्रहरी हिरासतको सट्टा अस्पताल रोज्ने प्रवृत्ति रोकाउँदै

गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । विभिन्न अभियोगमा पक्राउ परेका पहुँचवाला व्यक्तिहरू प्रहरीको हिरासतमा नबसी अस्पताल जाने प्रवृति बढेको भन्दै उनले काउन्सिलका प्रतिनिधिसँग परामर्श गरेका हुन् । 

काउन्सिल प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले स्वस्थ व्यक्तिसमेत हिरासत छल्न अस्पतालमा बस्ने प्रवृत्ति रोक्न सुझाव मागेको बताइएको छ । त्यस्तै, यस सम्बन्धमा अन्य मुलुकका व्यवस्था, नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन गरेर बेथिती न्यूनीकरणका उपायसहितको प्रतिवेदन दिन काउन्सिलका पदाधिकारीलाई गृहमन्त्रीले आग्रह पनि गरेका छन् । 

छलफलमा सहभागी काउन्सिलका सदस्य डा. कुञ्जाङ शेर्पाले यस्तो प्रकारको विषयमा गृह मन्त्रालयले पहिलो पटक चासो राखेको बताए । छलफलमा काउन्सिल सदस्यहरू डा. रुपक घिमिरे, डा. प्रणयरत्न शाक्य र डा. कालुसिंह खत्री पनि सहभागी थिए ।

गत सोमबार पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा अदालतबाट आदेश लिएर उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था जटिल देखिएकाले अदालतले नै त्यस्तो सुविधा दिएपनि यसअघि समेत विभिन्न अभियोगमा पक्राउ परेका नेता र उच्च पदस्थहरू बिरामीको बाहानामा प्रहरीको हिरासत छल्न अस्पताल बस्ने गरेका थिए ।

टिप्पणीहरू