माओवादीमा छैन चुनावी चटारो, यसपटक पनि मतदातामै सीमित ?

माओवादीमा छैन चुनावी चटारो, यसपटक पनि मतदातामै सीमित ?

गत वर्ष वैशाखमा प्रतिनिधिसभातर्फ तीनवटा क्षेत्रमा उपनिर्वाचन हुँदा कतैपनि उम्मेदवारी नदिएको सत्तारुढ नेकपा माओवादी केन्द्र आगामी वैशाखमा हुने उपचुनावमा उम्मेदवार उठाउनेबारे अलमलमा देखिएको छ । 

आगामी वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम-२ र प्रदेशमा बझाङ १(१) मा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले चैत्र २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम तय गरिसकेको छ । सत्तारुढ दल एमाले, रास्वपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायत अन्य साना दलसमेत उम्मेदवार चयन प्रक्रियामा जुटेका छन् । 

तर, सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रलाई भने चुनावी चटारोले छोएको छैन । माओवादीले अहिलेसम्म उम्मेदवारको छनोटको आन्तरिक प्रक्रियासमेत शुरु नगरेको त्यस पार्टीका नेताहरु बताउँछन् । गठबन्धनका नामका यसपटक पनि उम्मेदवारी नदिने सोचमा नेतृत्व रहेको नेताहरुको अनुमान छ । 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेरै भएपनि सरकारको निरन्तरता सुनिश्चित गरेपनि चुनावमा माओवादी निरन्तर कमजोर बनिरहेको छ । यस्तो स्थितिमा उपचुनावमा उम्मेदवार उठाएर आफ्नो भोट संरक्षण गर्नुपर्ने मत नेता-कार्यकर्तामा देखिन्छ ।  तर, उपचुनावबारे सो पार्टीले अहिलेसम्म औपचारिक छलफल समेत गरेको छैन । 

माओवादी गठबन्धनको भर पर्दै गर्दा एमालेले उम्मेदवारको नामसमेत टुंगो लगाइसकेको छ भने रास्वपा अन्तिम तयारीमा देखिन्छ । एमालेले इलाम-२ मा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

आमचुनावमा १६५ मध्ये ४३ सिटमा उम्मेदवारी दिएको माओवादीले गत वर्ष तीन क्षेत्रमा भएको उपचुनावमा पनि उम्मेदवारी दिएको थिए । चितवन-२, तनहुँ-१ र बारा-२ मा प्रतिनिधिसभातर्फ उपचुनाव हुँदा माओवादी र कांग्रेसबीच गठबन्धन थियो । त्यसबेला गठबन्धनको भागबण्डामा  बारा-२ माओवादीले पाउने सम्भवना हुँदाहुँदै नेतृत्वले अडान नलिएका कारण सो क्षेत्र गुमेको गुनासो माओवादीमा अहिले पनि सुनिन्छ । 

आमचुनावमा माओवादी उम्मेदवार शिवचन्द्र कुशवाह जसपाका रामसहाय प्रसाद यादवसँग झिनो मतले हारेका थिए बारा-२ मा । उनी माओवादीबाट उम्मेदवारको दावेदार थिए । तर, प्रचण्डले उक्त क्षेत्र जसपालाई छोडेपछि माओवादी त्यागेर कुशवाह जनमत पार्टीबाट उम्मेदवार भए । कुशवाहलाई विश्वासमा लिन नसक्दा बारामा माओवादी थप कमजोर बनेको छ ।    

उपचुनाव भएका चितवन-२ र तनहुँ-१ मा यसैपनि माओवादीको सांगठनिक अवस्था बलियो थिएन । त्यसकारण यी क्षेत्रमा माओवादीको दावी झन कमजोर हुने नै भयो । फलत: उपचुनाव भएका तीनै क्षेत्रमा माओवादी मतदातामा सीमित रहन पुग्यो । 

अहिले पनि माओवादी नेतृत्वको मनोविज्ञान हेर्दा इलाम र बझाङ दुबैतिर उम्मेदवारी दिने तयारी देखिंदैन । जबकि माओवादीको भन्दा कम जनाधार भएको एकीकृत समाजवादीसमेत उपचुनावको तयारीमा जुटेको छ । यसलाई कमजोर आत्मगत अवस्थाको उपज भन्छन् माओवादी नेताहरु । 

औपचारिकरुपमा यसबारे बोल्न नचाहाने एक नेताले भने, 'अध्यक्षलाई प्रधानमन्त्री भएपछि अरु केही नचाहिने जस्तो गरिएको छ, यसले भविष्यमा पार्टीलाई निकै कमजोर बनाउँछ । जित-हार यौटा कुरा भयो, तर उम्मेदवारी नै नदिने कुराले हाम्रो राजनीति स्थापित गराउन सकिंदैन ।'
 

टिप्पणीहरू