मुलुक बनाउने हो भने परम्परागत ‘ट्रेण्ड’ बदल्नैपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परम्परागत ढाँचाको बजेट निर्माणको प्रक्रिया बदल्नुपर्नेमा जोड दिनुभएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को बजेटको स्रोत अनुमानसम्बन्धी छलफलमा उहाँले उक्त धारणा राख्नुभएको छ । त्यसक्रममा प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगारकेन्द्रित बजेट निर्माणको तयारी गर्न सरोकारवाला निकायहरुलाई निर्देशनसमेत दिनुभएको छ ।
‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरी ’स्कुल अफ थट’ छन् । एउटा दृष्टिकोण छ– अर्थतन्त्र दबावमा छ, धान्नसक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जाउँ । अर्को दृष्टिकोण छ– चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने’, उहाँले भन्नुभयो, ‘त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत् केही नयाँ गरौं । देशमा केही हुँदैन भन्ने भाष्य व्यवहारबाट चिरौँ । म चाहिँ केही नयाँ गरौँ भन्नेमा दृढ छु ।’
प्रधानमन्त्री प्रचण्डले संकटको बेला राज्यले हस्तक्षेप गरेरै भएपनि अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिँदै जनताले अनुभूत गर्नेगरी बजेटले नयाँपन दिनुपर्ने बताउनुभयो । जनतामा आशा जगाउन सकेमात्र मुलुकले प्रगति गर्ने प्रधानमन्त्रीको विश्वास छ ।
सो क्रममा राजश्व बढाउन नयाँ कार्ययोजनासहित अगाडि बढ्न र आयोजनाहरूको प्राथमिकीकरणको काम व्यवस्थित गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिनुभयो ।
छलफलमा अर्थमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, राष्ट्रिय वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका अधिकारीहरूको उपस्थिति थियो ।
टिप्पणीहरू