वन अध्यक्षको बदमासी : किर्ते दस्तखतबाट पोहोर २५ लाख, यो वर्ष १७ लाख

वन अध्यक्षको बदमासी : किर्ते दस्तखतबाट पोहोर २५ लाख, यो वर्ष १७ लाख
सुन्नुहोस्

मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित सिस्नेरीपाखा सामुदायिक वन समूहका अध्यक्ष शिवकुमार विक पक्राउ परेका छन् । वन विकास कोषको रकम किर्ते दस्तखत गरेर झिकेपछि डेढ महिनादेखि बेपत्ता भएका उनलाई सब डिभिजन वन कार्यालय मकवानपुरले पक्राउ गरेर अनुसन्धान थालेको छ । 

उनलाई मनहरी गाउँपालिका ७ नम्बर वडाबाट पक्रेर हेटौंडा १० सिसौघारीस्थित वन कार्यालयको हिरासतमा राखिएको छ । वन समूहको वन विकास कोष शीर्षकको हेटौंडास्थित राष्ट्रिय बाणिज्य बैंकको खाताबाट १७ लाख ४९ हजार रुपैयाँ झिकेर अध्यक्ष विक सम्पर्कविहीन भएका थिए । 

हेटौंडा शाखामा खाता भए पनि चितवनको शाखामा गएर चेक सटही गर्दा कोषाध्यक्ष सानुमाया तामाङको दस्तखत समेत किर्ते गरिएको खुलेको छ । सब डिभिजन वन कार्यालय मनहरीका सहायक वन अधिकृत रुपक कुमा ब्लोनका अनुसार कोषाध्यक्ष तामाङले अध्यक्षले बदमासी गरेको निवेदन कार्यालयमा पेश गरेपछि विकको उक्त हर्कतबारे अनुसन्धान भइरहेको थियो । 

खातामा रहेको कोषाध्यक्षको दस्तखत र कार्यालयमा आएर सनाखत गरिएको दस्तखत नै फरक परेकाले घटनामा कोषाध्यक्षको संलग्नता नभएको कार्यालयको बुझाइ छ । ‘कोषाध्यक्षले नै लिखित निवेदन दिएपछि हामीले अनुसन्धान थालेका हौं’ सहायक वन अधिकृत ब्लोनले बताए । उनका अनुसार पक्राउ परेका विकलाई जिल्ला अदालतमा पेश गरी छ दिनको म्याद प्राप्त भएकाले अनुसन्धान भइरहेको छ । 

सोही वन समूहको अर्को घटना पनि चाखलाग्दो पाइएको छ । होटलमा खाजा खान जाँदा होटल सञ्चालक विकास लामाले चेक चोरेर २५ लाख झिकेको घटना उनै अध्यक्ष विकले पत्रकार सम्मेलनको आयोजना गरेर गत वर्ष सार्वजनिक गरेका थिए । त्यतिबेला समूह अध्यक्षकै मिलेमतोमा घटना भएको आरोप लागेपनि होटल सञ्चालक लामालाई मात्र दोष लगाइएको थियो । मनहरी ६, डिपाडका लामा घरजग्गा बिक्री गरेर त्यसपछि फरार छन् ।

टिप्पणीहरू