झापाको झगडा कसरी मिलाउनु भयो केपी ओलीले ?
केपी ओलीको जिल्लामा एमालेको चुनाव भएन । प्रतिनिधि तथा उम्मेदवारले नचाहेर होइन ।
नेतृत्वले नमान्दा चुनाव हुन पाएन । निर्वाचन समितिले दिएको समयभित्रै उम्मेदवारहरुले मनोनयन दाखिला गरे पनि सहमतिको नाममा सबैलाई फिर्ता लिन लगाइएको थियो ।
खासमा झापामा दुई पक्षका टिम नै खडा भएका थिए तर ती पछिसम्म टिकेनन् । हिजोदेखि नै ओली पक्षमा उभिएकाहरु नै भिडेका कारण पनि यहाँ समस्या देखिएको एमालेजनहरु बताउँछन् ।
दिपक कार्कीलाई जिल्ला अधिवेशनअघि नै केन्द्रीय सदस्य बनाएर उपाध्यक्ष प्रेम गिरीलाई जिल्ला अध्यक्ष बनाउन बालकोटले चाहेपनि बालकोटलाई नै मक्का मदिना ठान्ने सचिव शिव ढुंगेलले नछोड्ने भएपछि धेरैको पसिना छुटेको थियो । तर बालकोटको आदेश मात्र होइन बा नै ढुक्कै यहीँ बसेपछि कसको के लाग्छ र !
अन्तत: त्यही भयो,जो बा चाहन्थे । प्रेम गिरी र शिव ढुंगेललाई मिलाइयो र परिणाम घोषणा गरियो । तर यो मिलापले अरु केहीको भने रुवाई शुरु भएको छ । खासगरी दश बुँदे पक्ष पुरै बढारिएको छ । त्यो पक्ष शिव ढुंगेलको ढाडमा टेकेर टाउकोमा हान्ने रणनीतिमा थियो ।
टिप्पणीहरू