गृहमन्त्रीपछि श्रममन्त्री विवादमा, रास्वपाको काम सहकारी ठगी भएको काँग्रेसी आरोप
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न संसदमा प्रतिपक्षी नेपाली काँग्रेसले चर्को आवाज उठाइरहेको छ ।
पार्टी सभापति रविसँगै उपसभापति तथा श्रममन्त्री डोलप्रसाद अर्याल र सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सहकारी ठगीमा मुछिएको काँग्रेसका सांसदले बताएका छन् । सांसद रामकृष्ण यादवले प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वापाले भएभरका सहकारी ठग्ने जिम्मा लिएको आरोप लगाएका छन् । श्रममन्त्री अर्याल र सहमहामन्त्री बुर्लाकोटीले निक्षेपकर्ताको चार करोड रुपैयाँ फिर्ता नगरेको यादवको दाबी छ ।
‘श्रममन्त्री आर्यालले हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोडभन्दा बढी रकम फिर्ता नपाएको विषय छ । अर्याल मात्र होइन रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसमेत सहकारीको सञ्चालक थिए’, उनले भनेका छन् ‘सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोरखा मिडियाका अध्यक्ष जीवी राईलाई भित्र्याएको छ । त्यो काम श्रममन्त्री लगायतको हो भन्ने छ ।’
रास्वापाका सबै नेताहरु सहकारी ठगेरै राजनीतिमा आएको हुनसक्ने उनले बताए । यादवले भनेका छन्, ‘यो घटनाले सहकारीको ठगी सञ्जाल कसरी फैलिरहेको छ भन्ने पुष्टि भएको छ । त्यसैले हामी निष्पक्ष छानबिन भनिरहेका छौँ । त्यसका लागि संसदीय छानबिन समिति भनिरहेका छौं ।’
टिप्पणीहरू