गीत सार्वजनिकसँगै अध्यक्षद्वारा सरकारमा नजाने घोषणा

राजा फर्काउने अभियानअन्तर्गत आन्दोलनको तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा नजाने घोषणा दोहोर्याएको छ । 

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुने इच्छा देखाए पनि एमाले र माओवादीले महत्व नदिएपछि राप्रपाले प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । आज पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनले कुनैपनि प्रकारको सत्ता केन्द्रित राजनीति नगर्ने भनाइ दोहोर्याएका हुन् ।  

काठमाडौंमा आयोजित ‘काठमाडौं’ गीतको भिडियो सार्वजनिक गर्दै उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले कुनैपनि प्रकारको गठबन्धनमा समावेश हुँदैन । र, त्यस प्रकारको कुनै सोच बनाएको छैन । हामीले यो पछिल्लो सत्ता समीकरण बनेपछि स्पष्ट रुपमा भनेका छौं–राष्ट्रिय प्रजातन्त्र पार्टी सत्ता केन्द्रित कुनैपनि प्रकारको गतिविधिमा सामेल हुँदैन ।’

केन्द्रीय समीकरणअनुसार प्रदेशमा पनि सरकार बनाउन एमाले र माओवादीले गृहकार्य गरिरहँदा लिङ्गदेनको पछिल्लो प्रतिक्रिया आएको हो । राप्रपा कतिपय प्रदेशमा सरकार बनाउन निर्णायक हैसियतमा छ ।

टिप्पणीहरू