उम्मेदवार छान्न कांग्रेसमा किचलो

उम्मेदवार छान्न कांग्रेसमा किचलो

उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन बसेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको बैठक त्यसै सकिएको छ । 

उम्मेदवार चयन गर्न आज दिउँसो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक बसेको थियो । तर, संस्थापन र इतर खेमाबीच कसलाई उम्मेदवार बनाउने भन्नेमा कुरा नमिलेपछि निष्कर्षविहीन भएको हो । 

मुख्यगरी इलाम-२ मा सभापति देउवा र इतर पक्षका नेता शेखर कोइरालाले आफू निकटलाई टिकट दिन चाहेपछि उम्मेदवार छनोटमा विवाद भएको बताइएको छ । 

कांग्रेस स्रोतका अनुसार बैठकमा सभापति देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवारका रुपमा प्रस्ताव गरेका थिए । तर, भेषराज आचार्यलाई उम्मेदवार बनाउने कसरतमा रहेका कोइरालाले सो प्रस्तावप्रति सिधै असहमति जनाएका थिए । यी दुबै जिल्ला कार्यसमितिबाट सिफारिस भएका नाम हुन् । 

उम्मेदवार टुंग्याउन भोलि दिउँसो पुनः बैठक बस्ने जनाइएको छ ।

टिप्पणीहरू