गण्डकीका मुख्यमन्त्रीद्वारा राजीनामा, फेरि नेतृत्व लिने रणनीति

गण्डकीका मुख्यमन्त्रीद्वारा राजीनामा, फेरि नेतृत्व लिने रणनीति

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् ।

एकीकृत समाजवादीका एकमात्र सांसद दिपक मनाङ्गेलाई 'स्वतन्त्र' बनाएर मन्त्री दिँदा पनि सरकार टिक्ने सम्भवना कमजोर बनेपछि उनले आज प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

केन्द्रमा नयाँ समीकरण बनेसँगै फागुन २३ गते माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले संविधानत: भोलिसम्ममा विश्वासको मत लिनुपर्ने थियो । 

अहिले प्रदेशमा एमाले र माओवादी केन्द्रले मिलेर सरकार बनाउने गृहकार्य गरिरहेका छन् । तर, यी दुई दलले पनि बहुमत जुटाउन सक्ने देखिंदैन । 

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ । तर, एमाले २२ र माओवादी सभामुखसहित ८ गरी उनीहरुसँग जम्मा ३० सांसद् छन् । 

यता, २७ सांसद रहेको कांग्रेसलाई पनि सरकार बनाउन चार सिट पुग्दैन । यस्तो स्थितिमा दुई सांसद रहेको राप्रपा निर्णायक देखिएको छ । तर, राप्रपाले तत्काल कुनै पनि दललाई साथ नदिने बताएपछि गण्डकीमा सरकार गठन थप पेचिलो बनेको छ ।  

यो स्थितिमा संविधानको अर्को धाराअन्तर्गत ठूलो दलको नेताको हैसियतमा आफैँ मुख्यमन्त्री बन्ने रणनीतिका साथ पाण्डेले पद छोडेका हुन् ।

टिप्पणीहरू