जिबी राई रवि लामिछानेको सम्पर्कमा,आजदेखि अल्टिमेटम सकिएको काङ्ग्रेसको घोषणा

जिबी राई रवि लामिछानेको सम्पर्कमा,आजदेखि अल्टिमेटम सकिएको काङ्ग्रेसको घोषणा

नेपाली काँग्रेसले सहकारी ठगीको बात लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठनको माग दोहोर्याएको छ । प्रमुख प्रतिपक्षको हैसियतमा सहकारी पीडितका पक्षमा उठाएको जायज माग पूरा नभएसम्म काँग्रेस दायाँबायाँ नहुने सो पार्टीका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले प्रष्ट पारेका हुन् ।    

आज प्रतिनिधिसभामा बोल्दै उनले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउन आफ्नो पार्टीले दिएको अल्टिमेटम सकिएको घोषणा पनि गरे । 

 ‘आज मैले यहाँ उभिएर बोल्दै गर्दा प्रमुख प्रतिपक्षी दलको तर्फबाट मात्रै बोलिरहेको छैन । ५० हजारभन्दा बढी सहकारीको पीडित भएका नागरिकहरुको तर्फबाट पनि बोलिरहेको छु । उहाँहरुको तर्फबाट बोल्दै गर्दा मैले जानकारी गराउनुपर्छ,आजबाट हाम्रो अल्टिमेटम सकिएको घोषणा पनि मैले यहाँलाई सुनाउनुपर्छ', उनले भने । 

संसदको आगामी बैठकमा छानविन समिति लिएर आउन आग्रह गर्दै सांसद शर्माले प्रतिपक्षको विनम्रता र शालिनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । 

'हामीले कसरी–कसरी संसद नचलेको हेरेका छौँ । संसद अवरुद्ध भएको हेरेका छौँ । संसदमा तोडफोड भएको हेरेका छौँ',  उनले भने 'आज प्रमुख प्रतिपक्षको विनम्रता, शालिनता कमजोरी लाग्यो ? के प्रतिपक्षले उठाएका प्रश्न गलत लाग्यो ? त्यसैले अब आजको बैठक पछाडि सरकारलाई अपील छ, आउँदो बैठकमा आउँदै गर्दा सरकारले संसदीय छानवीन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा दायाँ न बाँया हामी उभिने छैनौँ ।’

गृहमन्त्री रविका तत्कालिन व्यावसायिक साझेदार तथा विभिन्न सहकारी ठगीमा संलग्न जिबी राई पक्राउ नपरेको विषयमा पनि सांसद शर्माले प्रश्न उठाए । जिबि राई गृहमन्त्री रविको सम्पर्कमा रहेको सूचना आफूहरुसँग रहेको पनि उनले दावी गरेका छन् ।

मलेसियाको कानूनमा कुनैपनि देशको अभियुक्त भएमा सम्बन्धित देशले कुटनैतिक प्रक्रियाबाट माग गरेमा सुपूर्दगी गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै उनले राईलाई ल्याउन ढिलाइ किन भएको ? भनेर प्रश्न गरे । 

सांसद शर्माले प्रमुख प्रतिपक्ष काँग्रेसको सहमति बिना संसद बैठक सञ्चालनका लागि कार्यसूचि नराख्न सभामुखलाई पनि आग्रह गरेका छन् ।

टिप्पणीहरू