गृहले गर्यो उपसचिव यताउता, अध्यागमनमा मनिता र सीता
गृह मन्त्रालयले नौ जना उपसचिवको सरुवा गरको छ । तीन जिल्लाका सहायक सिडिओसहित ९ उपसचिवको पदस्थापन र काज सरुवा भएको हो ।
जसअनुसार कृष्ण गैरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालयमा ल्याइएको छ । भोजपुरको सहायक सिडिओ भए पनि गृह मन्त्रालयमा काजमा रहेकी मनिता श्रेष्ठलाई अध्यागमन कार्यालय लगिएको छ ।
त्यस्तै, इलाका प्रशासन कार्यालय साँखुकी सिता परियार र जाजरकोटका सहायक सिडिओ पुष्कर राना पनि अध्यागमन कार्यालय सरुवा भएका छन् । राना मन्त्रालयअन्तर्गत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा थिए ।
विजयाकुमारी प्रसाई मन्त्रालयबाट ईलाका प्रशासन कार्यालय साँखु सरुवा हुँदा शिवराज सेढाईलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशक बनाएर पठाईएको छ ।
सप्तरीका सहायक सिडिओ रेवतीरमरण शर्मालाई अध्यागमन कार्यालय तातोपानी, सिन्धुपाल्चोक सरुवा भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका बरिष्ठ अध्यागमन अधिकृत झंकनाथ ढकाल मन्त्रालय तानिएका छन् ।
मोहनप्रसाद न्यौपानेलाई सहायक सिडिओ बनाएर अछाम पठाईएको छ । तर, अहिले उनको अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगमा काज तोकिएको छ ।
टिप्पणीहरू