अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कसले पाउनुपर्ने पहुँच ?

अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कसले पाउनुपर्ने पहुँच ?

सिंहदरवारमा हिजो दिउँसो तीन घण्टासम्म सुरक्षासम्बन्धी छलफल चलेको छ । छलफल मुख्यगरी देशभरका सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अनि त्यसमा सरोकारवालाको भूमिकाउपर केन्द्रित रहेको बताइन्छ । 

छलफलमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले समग्र सीमा सुरक्षा र अन्तर्राष्ट्रिय विमानस्थलबारे प्रस्तुति राखेको बुझिएको छ । बैरागीले पावर प्वाइन्ट प्रिजेन्टेसनमार्फत विद्यमान समस्या र समाधानका उपायहरु राखेपछि सहभागीहरुले त्यसैमाथि आफ्ना धारणा राखेको श्रोत बताउँछ ।

बैठकमा गृहसचिव एकनारायण अर्याल,प्रहरी महानिरीक्षक बसन्त कुँवर,सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापालगायतको सहभागिता थियो । स्रोतले बैठकबारे बताउँदै भन्यो,‘ सहभागीहरुले मुलुकको अन्तर्राष्ट्रिय सीमाको परिभाषित जिम्मेवारी हुनुपर्नेमा जोड दिए । कसलाई कसको के जिम्मा दिने ? भन्ने विषयले राम्रै चर्चा पायो ।’

"आतंककारी वा अपराधी मुलुकभित्र छिर्न वा बाहिरिन खोज्दा हेर्ने खास जिम्मेवारी कसको हो भनेर जिम्मेवारी तोकिनुपर्छ तर हाम्रो सन्दर्भमा अहिलेसम्म त्यस्तो भएको पाईंदैन । जहाजमा आतंककारी हमला भए,भिआइपीहरु बन्धक बनाइए हस्तक्षेप गर्ने कसले हो ?"

यतिखेर अन्तर्राष्ट्रिय सीमाना रेखदेखको जिम्मा सशस्त्र प्रहरी बल नेपाललाई छ । तर,विमानस्थलको अध्यागमन सूचनामा भने पहुँच छैन । सशस्त्रलाई अध्यागमनबाट को भित्रियो,को बाहिरियो भन्ने जानकारी हुनुपर्ने विषयमा कतिपयले कुरा उठाएका थिए । सोही छलफलमा थप लोकरिझ्याईको फण्डा निकाल्दै रवि लामिछानेले आफूहरुले अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी लाउञ्ज प्रयोग नगर्ने उद्घोष गरेका थिए । 

विमानस्थल अध्यागमनमा सशस्त्रको पहुँचबारे एक जना सुरक्षाविद् भन्छन्, ‘संसारका अधिकांश मुलुकमा उनीहरुले नै अध्यागमन प्रणालीमा पहुँच राख्ने गरेका छन् । आतंककारी वा अपराधी मुलुकभित्र छिर्न वा बाहिरिन खोज्दा हेर्ने खास जिम्मेवारी कसको हो भनेर जिम्मेवारी तोकिनुपर्छ तर हाम्रो सन्दर्भमा अहिलेसम्म त्यस्तो भएको पाईंदैन । जहाजमा आतंककारी हमला भए,भिआइपीहरु बन्धक बनाइए हस्तक्षेप गर्ने कसले हो ? ’ 

उनका अनुसार अध्यागमनको सूचना अभिलेखमा सशस्त्र प्रहरीको पहुँच नभएसम्म त्यस्तो संवेदनशील अवस्था पत्ता लाग्न गाह्रो हुन्छ । समाधान प्रस्तुत गर्दै उनले भने, ‘सबैले सबै ठाउँबाट निहित स्वार्थ नछाडेसम्म मुलुक बन्दैन । एअरपोर्टको कुरा पनि त्यही हो ।’

टिप्पणीहरू