गण्डकीमा सरकार गठनका लागि सात दिनको म्याद
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बिहान पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले नयाँ सरकार गठनका निम्ति चैत २७ गतेभित्र दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आउँदो चैत २७ गते दिँउसो ३ बजेभित्र दाबी पेश गर्न भनिएको छ ।
‘माननीय मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डेज्यूले मिति २०८०–१२–२१ मा नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वटा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मिति २०८० चैत २७ गते मंगलबार दिँउसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न माननीय प्रदेश प्रमुख श्री डिल्लीराज भट्टज्यूले आह्वान गर्नुभएको छ’, प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, अर्को प्रदेश मन्त्रिपरिषद् गठन भएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम हालकै प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी तोकिएको कार्यालयले जनाएको छ ।
टिप्पणीहरू