एमाले अधिवेशनमा मुर्दावादको नारा, नेताको पक्ष विपक्षमा प्रतिनिधि सारा

एमाले अधिवेशनमा मुर्दावादको नारा, नेताको पक्ष विपक्षमा प्रतिनिधि सारा

गृहजिल्ला कास्कीको नेतृत्व आफ्नो पक्षमा पारेका एमाले नेता खगराज अधिकारी पक्ष लमजुङमा भने शून्य भएको छ । एमाले लमजुङको नवौं अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सो पक्षले सदस्यसमेत जित्न सकेन ।

आठौं जिल्ला अधिवेशनमा पृथ्वीसुब्बा गुरुङकै जोडमा अध्यक्ष, उपाध्यक्ष र सचिव सर्वसम्मत भएका थिए । उपसचिवमा उनी समर्थित कृष्णप्रसाद अधिकारी, सुभाष पौडेल र जीतबहादुर गुरुङ मनोनीत भए । तर, गत आमनिर्वाचनपछि ती सबै गुट परिवर्तन गरेर खगराज कित्तामा उभिएपछि पछिल्लो अधिवेशन गुरुङका लागि चुनौतीको पहाड बनेर उभियो । 

सहमतिबाटै पदाधिकारी चयन गर्ने भनेपनि त्यसखालको कुनै प्रयास नै भएको देखिएन । दुईदिन भनिएको अधिवेशन चारदिन चल्यो । १६ गते उद्घाटनका दिन स्थायी कमिटी सदस्य अधिकारीले आफू र उपमहासचिव गुरुङबीच कुनै तिक्तता नभएको प्रष्टीकरण दिए । आफ्नो नेता गुरुङ नै भएको प्रष्ट पार्दै उनले केही मिडियाहरुले अनावश्यक हल्ला पिटाएकाले गुटको राजनीति अन्त्य गर्न लमजुङ्गे कार्यकर्तालाई आह्वानसमेत गरेका थिए । 

अधिकारीले ‘फूट र गुट मूर्दावाद’, ‘नेकपा एमाले जिन्दावाद’ को नारा लगाए । कार्यकर्ताले परर्र ताली ठोके । आँखा चिम्लेर भाषण सुनिरहेका उपमहासचिव गुरुङले भने ओठ लेप्राएका थिए । 

प्रमुख अतिथि महासचिव शंकर पोखरेललाई लगत्तै काठमाडौं फर्कनुपर्ने भएकाले आधा दर्जन वक्ताभन्दा अघि सम्बोधन गर्ने समय मिलाइयो । एमाले सर्वहारा जनताको भन्दा जाली फटाह सामन्तको पार्टी बन्दै गएको, दलालहरुको इशारामा चल्न थालेको,  गरिब किसानहरुलाई बिर्सिएको, माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनबाद भुत्ते भएको छ, जबज नसुनेकाहरु नेता बन्न हानथाप गरेको जस्ता गुनासो सुनाइएको थियो । 

गण्डकी प्रदेश समितिको अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्यदेखि पार्टीको सबै जिम्मेवारीबाट पाखा लागेका खगराज टीमका मायानाथ अधिकारी, अनेम संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमाल पनि महासचिव पोखरेलसँगै लाखापाखा भए ।

महासचिव हिँडेपछि मञ्च उपमहासचिव गुरुङको एकलौटी जस्तै देखियो । उनले आफूलाई कस्तुरीको संज्ञा दिँदै ‘आफ्नै घर आँगनमा कस्तुरीको बासना चाल नपाएर भौतारिँदै पाखापाखा चहारेको’ व्यङ्ग कसे । गण्डकी प्रदेशको अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्यदेखि पार्टीको खगराज पक्षका भन्ने लमजुङ जिल्ला इञ्चार्ज रामशरण बस्नेत मात्रै थिए जो त्यो माहोलमा टुहुरा जस्तै देखिए ।

चैत १६ गते शुरु भएर चार दिनसम्म चलेको एमाले लमजुङको अधिवेशनमा  उपमहासचिव गुरुङ पक्षले पूरै कब्जा गरेजस्तै देखियो । उम्मेदवार मनोनयनमा समेत कृष्ण–सुभाषको टिमबाट उठ्न खोजेकालाई प्रलोभन र त्रासले घेराबन्दीमा पारेको जस्तो देखिन्थ्यो । अघिल्लो दिनसम्म खगराजकै प्यानलमा रहेका जिल्ला उपसचिव जीतबहादुर गुरुङ रातारात गुट परिवर्तन गरेर पृथ्वी प्यानलमा छिरेर उपाध्यक्षमा लडे । तिनै गुरुङ जो पृथ्वीविरुद्ध बालकोट जानेमध्येका एक थिए । 

महिला उपसचिवमा उम्मेदवारी दिएकी मध्य–नेपाल नगरपालिका–३ कि राधिका पराजुलीलाई गुरुङ गुटले दबाब दिएपछि उम्मेदवारी फिर्ता मात्रै गरिनन् निर्वाचनमै भाग नलिई फर्किइन् । दोर्दीकी राममाया थापा मगर महिला उपसचिवमा निर्विरोध भइन् । अधिकारी गुटले अध्यक्ष, उपाध्यक्ष सचिव र उपसचिव बाहेक अरु सदस्यको निम्ति उम्मेदवार समेत भेट्टाएन ।
 
यता, आफूलाई हराउन उपमहासचिवको टोलीले अनेकौँ हत्कण्डा अपनाएको कृष्ण अधिकारीको आरोप छ । निष्पक्ष ढंगले निर्वाचन हुन दिएको भए परिणाम स्वीकार्न कुनै आपत्ति थिएन तर अतिथिको रुपमा आएका उपमहासचिवसहित प्रदेश र केन्द्रका नेताहरूले आफूहरुलाई चौतर्फी घेराबन्दी गरेर हराउन लाग्नु शुभ संकेत होइन’, उनले दुखेसो गरे । 

अधिवेशन समापनका दिन त अधिकारीले रेफ्रीको भूमिका निभाउन पर्ने नेता खेलाडी नै बनेर मैदानमा उत्रिएको आरोप लगाए । गुरुङ गुटले ‘यी नामबाहेक दायाँबायाँ नगर्नु’ भनेर प्रतिनिधिहरुलाई चिर्कटो बाँडेको अमृत श्रेष्ठले सार्वजनिक गरिदिए । त्यत्ति मात्र होइन, ०८४ को निर्वाचनका लागि अहिल्यै उम्मेदवारको भागबण्डासमेत भएको बताइन्छ । 

अधिकारी गुटबाट उपसचिवको उम्मेदवार बनेका राजेन्द्र अधिकारीले गतिलै रकम खर्च गरेपनि प्रतिस्पर्धाको छेउमा पनि पुग्न सकेनन् । ०७९ को निर्वाचनमा पिएसलाई १० लाख चन्दा दिएका, माओवादी हुँदै गण्डकीको नेता भएका मोहनहरी पौडेललाई उनकै निजी खर्चमा महिनौं दिन विदेश घुमाएका र संविधानसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घलेलाई समेत दक्षिणा दिने हैसियत बनाएका कुनैबेला बेशीसहरमा हिमाल सहकारी डुबाएर काठमाडौंमा चल्तीको व्यापार चलाएका राजेन्द्र अधिकारीलाई भोट नहाल्न घलेले उर्दी जारी गरेको गेट वे रिसोर्टमा मापसे गर्दाको बखत गुह्य कुरो खोलेका थिए । 

अधिकारी गुटको ५० भोट पनि नआउने हल्ला चलाएर प्रतिनिधिहरुलाई कडा निर्देशासाथ घेरामा पारेर राख्दा पनि अध्यक्षका प्रत्यासी कृष्णप्रसाद अधिकारीले १ सय ९९ मत ल्याउन सफल भए । उपाध्यक्ष सुभाष पौडेल जम्मा ५ मतले मात्रै पराजित भएका हुन् । सचिवमा भने सुन्दरबजार नगरपालिकाका पूर्वमेयर तथा उपसचिव जनकराज मिश्र फराकिलो मतान्तरले पराजित भए । विजयी राजेन्द्र बोहराले ३५८ मत प्राप्त गर्दा उनले ११९ भोट पाएका थिए । 

पाँच पदाधिकारीसहित ८३ सदस्यीय जिल्ला कमिटीका लागि भएको निर्वाचनना खगराज गुटका एक सदस्य पनि आउन सकेनन् । दुई पटक सचिवमा पराजित राजकुमार विष्टले यसपटक भने अधिकारीलाई २८८ मतले पछाडि पारेर विजयी बने । उपाध्यक्षमा जीतबहादुर गुरुङले २४२ मत ल्याई विजयी हुँदा सुभाष पौडेलले २३७ मत प्राप्त गरेका थिए । 

त्यस्तै, उपसचिवमा विवश बुढाथोकीले ३४९ मत पाउँदा राजेन्द्र अधिकारीले १२९ भोट ल्याए । सूर्यप्रसाद गुरुङ ३४७, अर्जुन गुरुङ, ३४६  कृष्ण केसी ३३७, पेमा गुरुङ ३२०, प्रेम भट्टराई ३०७, शिव जोशी २९७, चन्द्रमा घिमिरे ३४०, पदमा गुरुङ ३८१, शान्ता सापकोटा ३७१ र बुनाकुमारी रिमाल ३८९ सबैभन्दा बढी मतका साथ विजयी भएका छन् । 

बेशीसहर क्लस्टरको तीन सदस्यमा ११ जना प्रत्यासीमध्ये जुन तामाङ २६५, मदन राना २२७ र प्रदीप घिमिरे २१८ मतले  विजयी बनेका छन । महिलाको दुई पदमा कल्पना थापा बोहरा ३१२ र मीना रावल २६९ मत पाएर जित निकाल्न सफल भए । सुन्दरबजार नगर क्षेत्रका मेनबहादुर घले, कृष्णमान श्रेष्ठ, कृष्णप्रसाद अधिकारीहरुले जिल्ला कमिटी सदस्यमा जित्दै गर्दा माओवादीद्वारा हत्या गरिएका तिलक पाण्डेका भाइ समन्वय प्रमुखसमेत रहेका लोकराज पाण्डे र सुन्दरबजार नगरपालिकाका उपप्रमुख भवानी केसीले लज्जास्पद हार व्योहोरेका छन् । 

जम्मा ५३१ अधिवेशन प्रतिनिधिमा मतदानका बेला ५०५ जनामात्रै उपस्थित थिए । दर्जनौं प्रतिनिधिले गुटबन्दी मूर्दावाद भन्दै मतदान बहिष्कार गरेका थिए भने मतगणना हुँदै गर्दा केहीबेर झडपसमेत भएको थियो ।

टिप्पणीहरू