पत्नीमाथि छानबिन शुरु,बालेनसँग रविको भेट खुरुखुरु
आफ्नै कान्छी पत्नी निकिता पौडेल सहकारी काण्डमा मुछिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेटवार्ता गरेका छन् । उनले हिजो दिउँसो २ बजेदेखि झण्डै ३ बजेसम्म मन्त्रीको कार्यकक्षमा साहसँग कुराकानी गरेका थिए ।
हिजै अपरान्ह पौडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा महानगरले छापा मारेको छ । यसअघि नेपाल प्रहरीको सिआइबीबाट उन्मुक्ति दिलाए पनि उक्त सहकारीमा हिजो महानगरको सहकारी शाखाले छापा मारेर सहकारीका सफ्टवेयर र ऋणीहरूको सूची नियन्त्रणमा लिएको छ ।
गृहमन्त्री रवि लामिछाने पत्नी निकिता उपाध्यक्ष रहेको उक्त सहकारीले बचतकर्ताको रकम फिर्ता नदिएको र अपचलन गरेको उजुरी परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसको जानकारी महानगरसँग मागेको र महानगरले छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।
सोही कारण श्रीमती र आफू अप्ठेरोमा पर्ने भएपछि काठमाडौंका मेयरसँग गृहमन्त्री रवि लामिछानेले हिजो मन्त्रालयमा एकाएक भेट गरेको बुझिन्छ । भेटमा अप्रत्यक्ष भाषामा हारगुहार गरिएको स्रोतको दाबी छ ।
श्रीमती र आफू अप्ठेरोमा पर्ने भएपछि काठमाडौंका मेयरसँग गृहमन्त्री रवि लामिछानेले हिजो मन्त्रालयमा एकाएक भेट गरेको बुझिन्छ । भेटमा अप्रत्यक्ष भाषामा हारगुहार गरिएको स्रोतको दाबी छ ।
मेयर निकट स्रोत भन्छ, ‘अहिलेसम्म बालेनलाई भेट्नेबारे कुनै वास्ता गरिएन । सोझो अर्थमा महानगरका प्रमुखसँग गृहमन्त्रीको भेटको जरुरत पनि हुँदैन । बरु साहले अस्ति राजधानीको फोहोर व्यवस्थापनको निम्ति सहरी विकासमन्त्रीसँग भेट गर्नुभएको थियो ।’
तर, हिजो अकस्मात बालेनलाई भेट्न हतारिएपछि कुरो गम्भीर भएको हो । जब आफूमाथि संकट पर्छ, त्यसपछि साम, दाम, दण्ड, भेद प्रयोग गर्नु रविको विशेषता नै हो । गतवर्ष दोहोरो नागरिकता र पासपोर्ट काण्डबाट जोगिन उनले हठात् सरकारलाई समर्थन गरेर चर्चाको चुलिमा पुगेको काण्ड एकाएक ढिसमिस गराएका थिए ।
गत महिना पनि सिआबीले उनी संलग्न सहकारी संस्थाको रकम अपचलन केसमा तान्न खोजेपछि प्रचण्ड नेतृत्व सरकारलाई फेरि एकाएक समर्थन गर्न पुगे । अहिले पत्नी निकिताको सहकारी संकटमाथि कालो बादल मडारिएपछि उनले बालेनलाई गुहारेको छर्लङ्ग हुन्छ ।
महानगर स्वायत्त निकाय भएकाले गृह मन्त्रालयको निर्देशन ठाडै लागु हुनसक्ने सम्भावना नभएपछि भेटको उपाय अपनाइएको सहजै अनुमान लगाइएको छ । यी सबै घटनाक्रमले आत्मकेन्द्रित व्यक्ति र समूहले मुलुक बनाउँछन् भनेर सोच्नु मिथ्या साबित हुँदै गएको पुष्टि हुन्छ ।
टिप्पणीहरू