लगानीकर्ताको मनोबल उच्च राख्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले मुलुकको वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार लागिपरेको उल्लेख गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण निजी क्षेत्रका संघ संस्था र प्रतिनिधिहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यहाँहरूले देखाउनुभएको चासो र मागलाई सम्बोधन गर्न सरकार र निजी क्षेत्रको बलियो एकता आवश्यक छ ।’
लगानी र रोजगारी सिर्जना गर्न एवम् उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रले अग्रणी भूमिका निर्वाह गर्दै आएको प्रधानमन्त्रीको भनाइ छ । राज्यका तिनै तहका सरकारले नीति तथा योजना निर्माणमा निजी क्षेत्रसँग समन्वय गर्दै आएको जानकारी पनि दिनुभयो ।
सन् २०३० सम्म दीगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रूत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ नेपाल केन्द्रित भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले निर्धारित लक्ष्य हासिलका लागि सरकार र निजी क्षेत्र दुवैबाट हुने लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
आगामी वैशाखमा हुने लगानी सम्मेलनलाई अधिकतम प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस गृहकार्य र तयारीसहित अगाडि बढेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्र्याउन हाम्रा नीति, कानुन, सोच, संरचना र कार्यशैलीमा काफी चुनौती र सीमाहरू छन् । त्यसलाई सम्बोधन गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि लगानी भित्राउन प्रतिकूल देखिएका ऐनहरू संशोधन गरी लगानीका लागि सरलीकृत नीति र प्रक्रियाका तयारी गरिएको छ ।’
लगानी सम्मेलनपछि नयाँ क्षेत्रको पहिचान र छनोट एवम् प्रतिबद्धताबमोजिम लगानी भित्र्याउन महत्वपूर्ण योगदान पुग्ने सरकारको विश्वास छ । सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र वाह्य सूचकहरू सकारात्मक बन्दै गएको गरिएको छ । प्रधानमन्त्री प्रचण्डले वित्तीय नीति र मौद्रिक नीतिबीच तादाम्य कायम एवम् निजी क्षेत्रसँग बलियो सहकार्य अर्थतन्त्रका आधारभूत सूचकाङ्कहरू सकारात्मक हुँदै जानु सुखद् भएको बताउनुभयो ।
परम्परागत ढाँचाको नीति तथा कार्यक्रम र बजेटले देशको समृद्धि र रूपान्तरण सम्भव नरहेको यथार्थलाई आत्मसात गर्दै सरकारले यो वर्ष अध्यादेश नै ल्याएर बजेटसम्बन्धी नीति, ढाँचा र कार्यतालिका परिमार्जन गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । यसपटक नीति तथा कार्यक्रममाथि जनप्रतिनिधिहरू, उद्योगी–व्यवसायीहरू, बुद्धिजीवीहरू र आम जनसमुदायका बीचमा गहन छलफल र अन्तरक्रिया हुने जानकारी दिनुभएको छ ।
टिप्पणीहरू