ईलामको उपचुनाव,पहिचानवादीको अग्निपरीक्षा

ईलामको उपचुनाव,पहिचानवादीको अग्निपरीक्षा
सुन्नुहोस्

ईलाम-२ को उपनिर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी डेढ दर्जन उम्मेदवार प्रतिस्पर्धामा उत्रिंदै छन् । १२ राजनीतिक दलबाट १२ र ८ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको थियो । जसमध्ये एक जनाले उम्मेदवारी फिर्ता लिएपछि १९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्नसमेत प्रदान गरिएको छ ।

तर, निर्वाचनमा नेपाली कांग्रेस, एमाले, रास्वपासँगै पहिचानवादीका तर्फबाट उठाइएका स्वतन्त्र उम्मेदवारलाई पनि बलियो प्रतिस्पर्धी मानिएको छ । किनभने ईलाम-२ पहिचानवादीहरुको पकड क्षेत्र मानिन्छ । यसै क्षेत्रमा पर्ने माङसेबुङ गाउँपालिकाको लारुम्बामा किरात धर्मगुरु आत्मानन्द लिङ्गदेनको बसोवास छ । यो ठाउँलाई पहिचानवादीहरुले तीर्थस्थलजस्तै मान्ने गरेका छन् । त्यसो त, पहिचानविरोधी पार्टीको आरोप खेपिरहेको नेकपा एमालेको प्रभाव क्षेत्र पनि मानिन्छ ईलाम । स्वर्गीय सुवास नेम्वाङले पटक-पटक जितेको क्षेत्र हो, ईलाम-२ । यहाँ नेपाली कांग्रेसको पनि राम्रै प्रभाव छ । गत आमचुनावमा सुवास नेम्वाङको मुख्य प्रतिस्पर्धीमा काँग्रेसका डम्बर खड्का थिए । 

प्रमुख दुई दल एमाले र कांग्रेससहितको समर्थनमा प्रदेश नं १ को नामाकरण कोशी टुंगो लागेपछि पहिचानवादीहरुले लामो र सशक्त आन्दोलन गरे । आन्दोलनकै क्रममा एक जनाको ज्यानसमेत गयो । संयुक्त संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरुले 'पहिचानविरोधी सांसद' लाई गाउँ प्रवेशमा रोक लगाउनेदेखि घरमा कालो झण्डा गाडने, मोसो दल्ने, सरकारी कार्यालयबाट 'कोशी' लेखिएको ब्यानर हटाउने अभियान पनि चलाए । तर, प्रदेश सभाबाट दुई तिहाई बढीले पारित भएको नामाकरण फिर्ता भएन । पहिचानको मुद्दा उठाउने माओवादी केन्द्रका सांसदहरुले समेत 'कोशी नामाकरण' को पक्षमा आफूलाई उभ्याएका थिए ।   

'कागतीको विरुवाा रोपेर सुन्तला फलाउन सकिंदैन' भनेर होला इलाम-२ मा विभिन्न समूहमा विभाजित पहिचान पक्षधरहरुले संघर्ष समितिका संयोजक डेगेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार बनाएका छन् । एमालेले सुवासका कान्छा छोरा सुहाङ नेम्वाङलाई मैदानमा उतारेको छ भने काँग्रेसले डम्वर खड्कालाई पुन: मौका दिएको छ । माओवादी केन्द्र छोडेका पूर्वपहिचानवादी नेता मिलन लिम्वु रास्वपाबाट उठेका छन् । पूर्वप्रधानमन्त्री झलनाथखनालको गृहजिल्लासमेत रहेको सो क्षेत्रमा एकीकृत समाजवादीले जितवहादुर राईलाई जिताउने दाबी गरेको छ । 

सत्तारुढ नेकपा माओवादी र विप्लव समूहले एमाले उम्मेदवार नेम्वाङलाई सघाएको छ । अर्को सत्तारुढ जसपाले भने स्वतन्त्र उम्मेदवार थेगिमलाई सघाउने निर्णय गरेको छ । मधेशमा पहिचानको वकालत गर्दै आएको सिके राउतको जनमत पार्टीले अब पहाडमा पनि पहिचानको मुद्दालाई बलियो बनाउने भन्दै प्रेमदिप थाम्सुहाङ लिम्वुलाई उम्मेदवार बनाएको स्थिति छ । 

पूर्वपंचहरूको पार्टी राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगर उम्मेदवार छन् । 

अर्कोतिर पहिचान पक्षधर धेरैले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मंगोल नेश्नल अर्गनाइजेशनका मनिबहादुर लिम्बू यसपटक पनि चुनावी मैदानमा होमिएका छन् । राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह अघि सरेका छन् भने अर्जुनकुमार शाही, केशवकुमार चापागाई, दिपेश बोहरा, मनोज निरौला, योगेन्द्र गुरुङलगायत स्वतन्त्र उम्मेदवार छन् । 

रमाइलो कुरा चै, पहिचानको मुद्दा उठाउँदा 'जातिवादी' को आरोप लगाउने कांग्रेस, एमाले, रास्वपालगायतका पार्टी र तीनका नेताहरु अहिले आफूलाई पहिचान पक्षधर रहेको बताइरहेका छन् । चुनावी परिणाम यिनै दलको पक्षमा गए पहिचानको मुद्दा स्वत: कम्जोर हुनेछ । त्यसकारण इलाम-२ को चुनाव पहिचान पक्षधरहरुका लागि प्रतिष्ठाको विषय बन्दैछ ।

पहिचान पक्षधर समूहका साझा उम्मेदवार डेगेन्द्रसिंह थेगिमले आफ्नो जित्ने आधार नै 'पहिचानको आन्दोलन' भन्दै आएका छन् । ईलाम-२ किरात–लिम्वुवान प्रदेशको मुख्य आधार ईलाका भएकाले आफ्नो जित निश्चित रहेको उनको दाबी छ । आफूले चुनाव जिते कोशी प्रदेशको नाम सच्याएर किरात–लिम्वुवान राख्न बल पुग्ने पनि उनको विश्वास छ ।   

२०७९ को निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठवन्धनबाट भिडेका कांग्रेसका डम्बरबहादुर खड्कालाई एक्लै प्रतिश्पर्धामा उत्रिएका सुवास नेम्वाङले १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत पाए थिए ।  रास्वपाबाट प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए ।

टिप्पणीहरू