गृहमन्त्रीविरुद्धको मोर्चा फराकिलो हुँदै, महन्थ ठाकुर पनि विपक्षमा

गृहमन्त्रीविरुद्धको मोर्चा फराकिलो हुँदै, महन्थ ठाकुर पनि विपक्षमा
सुन्नुहोस्

सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्ने विपक्षी दलको संख्या थपिन थालेको छ । 

हिजोसम्म प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले उठाउँदै आएको उक्त मागको पक्षमा आजदेखि राप्रपा र लोसपा पनि सहमत भएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा काँग्रेससंगै यी दुई दलका सांसदहरुले पनि छानबिन समिति गठनको माग राखेका छन् ।

लोसपाका सांसद रामप्रकाश चौधरीले सहकारीबाट धेरै नागरिक पीडित भएकाले तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी स्पष्ट रहेको बताए । २०७५ सालमा गोरे भन्ने व्यक्तिको नेतृत्वमा भएको ३८ किलो सुन तस्करी प्रकरणको छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरे । 

त्यस्तै, सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएकोमा उनले असन्तुष्टि जनाएका छन् । संसदीय छानबिन हुने तर प्रतिवेदन सार्वजनिक नगर्ने भए त्यस्ता समितिको कुनै औचित्य नहुने सांसद चौधरीको भनाई छ । 

त्यसअघि बोल्ने राप्रपाका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र शाही) ले पनि छानबिन समिति गठन गर्न माग गरे । सत्तापक्षकै सांसद राजेन्द्रप्रसाद पाण्डेले समेत घुमाउरो भाषामा आफूलाई संसदीय समिति गठनको पक्षमा उभ्याए । उनले काँग्रेससँग अर्थपूर्ण र सार्थक सहमति गरेर सदनको अवरोध हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।  

तर, सत्ता पक्ष भने अहिलेसम्म संसदीय समिति बनाउन तयार भैसकेको छैन । जसका कारण केही दिनयता संसद बैठक प्रभावित हुँदै आएको छ ।आज पनि आकस्मिक समयको कार्यक्रम सकिएलगत्तै विपक्षी वेञ्चका सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले सभालाई निर्धारित कार्यसूचीमा प्रवेश गराउन खोज्दा काँग्रेस, राप्रपा र लोसपाका सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए । 

सभामुखले बारम्बार आग्रह गर्दा पनि सांसदहरुले अवरोध जारी राखेपछि वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।प्रतिनिधिसभाको हिजोको बैठकमा पनि काँग्रेस सांसदहरुले अवरोध गरेपछि निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । हिजो राप्रपा र लोसपाका सांसदहरु उठेका थिएनन् ।

टिप्पणीहरू